Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ८९ करोड नाफा, ईपीएस र लाभांश क्षमता कति?



काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले उल्लेख्य सुधारसहित आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्ष २०८१/८२ को तुलनामा करिब ४७ प्रतिशतले बढेको छ ।

बैंकले गत आवको असार मसान्तसम्ममा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आव २०८१/८२ मा बैंकले ६० करोड ६६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४६.६९ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ६४ करोड २३ लाख रुपैयाँ रहेको थियो। त्यसैगरी, कुल सञ्चालन आम्दानी १ अर्ब ९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ७ करोड १४ लाख रुपैयाँ थियो।

अघिल्लो आवमा ३४ करोड ५४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको बैंकले समीक्षा अवधिमा भने यसलाई घटाएर ९ करोड १३ लाखमा झारेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात भने ५.५२ प्रतिशतबाट वृद्धि भएर ६.८७ प्रतिशत कायम भएको छ ।

विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने लाभांश क्षमता समेत १०.३६ प्रतिशतबाट बढेर १३.१९ प्रतिशत पुगेको छ । बैंकको सञ्चित मुनाफा २ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको छ।

बैंकको कुल निक्षेप ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप करिब ४.३४ प्रतिशत र कर्जा करिब ७.०३ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

यस्तै बैंकको क्यापिटल एडिक्वेसी रेसियो १४.६३ प्रतिशत कायम रहेको छ । बैंकको रिटर्न अन इक्विटी १४.५२ प्रतिशत पुगेको छ भने रिटर्न अन एसेट १.३७ प्रतिशत कायम भएको छ। कस्ट अफ फन्ड ३.५४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ५.०१ प्रतिशत थियो।

समीक्षा अवधिसम्म बैंकको प्रति सेयर आम्दानी (ईपीएस) २३.८३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकका ईपीएस १७.०६ पैसा थियो। त्यस्तै, प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.९५ गुणा रहेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार १५:१३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।