Logo

समाचार

सिन्धुली कार दुर्घटना: सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो



रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ ।

सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गअन्तर्गत प्रयोग हुने कारलाई ठक्कर दिएको थियो । ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र वतन नखुलेका अन्य दुई जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गसँग सम्बन्धित रहेको जनाइएको छ । यसअघि प्राप्त जानकारीअनुसार कारसँग सम्बन्धित चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको बताइएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

दुर्घटनापछि बसका चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई बससहित खाङसाङ प्रहरी चौकीमा राखिएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोली घटनास्थलमा परिचालित भई सुनकोशी नदीमा बेपत्ता कार र चारै जनाको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार १४:१०   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।