काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ११ वटा फर्ममा स्थलगत अनुगमन गरी कारबाही गरेको छ।
स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि मध्यपुरथिमी नगरपालिका–९ राधेराधेमा रहेको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनलाई पाँच हजार जरिवाना गरेको छ। खरिद बिलविजक नराखेको पाइएकाले उक्त फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ।
यस्तै, हेल्दी बाइटस् सर्भिर्सेज भैँसेपाटीलाई कर चुक्ता, खानाको मेन्यु लिस्ट, खरिद बिक्री बिललगायत कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले उमङ्ग इन्टरप्राइजेज र सगरमाथा ग्यास उद्योगलाई सरकारको मापदण्डबमोजिम समानुपातिक रुपमा खाना पकाउने ग्यासको बिक्रीवितरण गर्न तथा व्यावसायिक मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ। अन्य फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ।
स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले प्रष्ट पारेको छ।




















प्रतिक्रिया