Logo

विविध

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सर्टलिष्ट



काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदपूर्तिका लागि सिफारिस समितिले तीन जना उम्मेदवारको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धात्मक परीक्षाका आधारमा मूल्याङ्कन गर्दा सर्वाधिक अङ्क प्राप्त गर्नेहरूको नाम अन्तिम चयनका लागि सिफारिस गरेको हो ।

मन्त्रालयद्वारा गठित सिफारिस समितिको गत साउन १७ गते बसेको बैठकको निर्णयानुसार वर्णानुक्रमका आधारमा उम्मेदवारहरू सिफारिसमा परेका छन् ।

सिफारिसमा परेकाहरूमा कौशल के.सी. (नौबहिनी गाउँपालिका वडा नं. ६, प्यूठान), सि.ए. नागेन्द्र साह (नगराइन नगरपालिका वडा नं. ३, धनुषा) र संजीवकुमार देव (राजविराज नगरपालिका वडा नं. १३, सप्तरी) रहेका छन् ।

निगमको नेतृत्व खाली भएपछि मन्त्रालयले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको थियो ।

प्राप्त दरखास्तहरूमध्ये स्वीकृत उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ता लगायत प्रक्रिया पूरा गरी ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ बमोजिम यो सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

सिफारिस समितिले पठाएको यी तीन नाममध्येबाट मन्त्रिपरिषद्‌ले एक जनालाई आगामी चार वर्षका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।

देशमा इन्धनको आपूर्ति व्यवस्थापन, पूर्वाधार विकास (जस्तै भण्डारण क्षमता अभिवृद्धि र पाइपलाइन विस्तार) तथा संस्थागत सुधारका दृष्टिले निगमको कार्यकारी निर्देशक पदलाई निकै महत्त्वकासाथ हेरिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलवार १९:१२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।