Logo

विविध

बाढी र पहिरोका कारण देशभर प्रमुख सडक अवरुद्ध



काठमाडौं। देशभर भइरहेको वर्षा, बाढी र पहिरोका कारण बीपी राजमार्ग र मेची राजमार्गसहित देशका विभिन्न भागका मुख्य सडक मार्गहरू अवरुद्ध भएका छन्।

प्रहरीले बेलुका ७:२० बजेसम्म दिएको जानकारी अनुसार सुरक्षा सतर्कता र भौतिक क्षतिको जोखिमलाई ध्यानमा राख्दै केही सडकमा रात्रिकालीन समयमा सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ भने कतिपय स्थानमा पहिरो खस्ने र सडक भासिएर पूर्ण रूपमा बन्द भएका छन्।

बीपी राजमार्गअन्तर्गत काभ्रे र सिन्धुलीको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन चलाउन रोक लगाइएको छ। तर बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सवारी साधनहरू सुचारु हुने गरेका छन्।

त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै किसिमका सवारी साधन चलाउन रोक लगाइएको छ।

इलामको राजदुवालीमा बाटो हिलाम्मे हुँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ भने सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो, कोदारी (ईकु पहिरो) र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएर पूर्ण रूपमा बन्द भएको छ।

यसैगरी, दोलखाको लामासाघु-रामेछाप राजमार्गमा तामाकोशी खोलाले सडक कटान गरेपछि अवरुद्ध भएकोमा खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको परिसरबाट वैकल्पिक बाटो खुलाइएको छ।

रसुवाको पासाङ ल्हामु सडक खण्डअन्तर्गत खाल्टेमा त्रिशूली नदीले सडक मुनिबाट कटान गर्दा कच्ची सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।

मुगुको नाग्म-गमगढी सडक खण्ड र बागलुङको कालीगण्डकी करिडोरअन्तर्गत बेलबगरमा पनि सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार २०:३७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।