Logo

अटो

१५ मिनेट चार्ज गर्दा १३५ किलोमिटर रेन्ज, ठूलो ब्याट्रीसहित आयो टाटा पन्च ईभी



काठमाडौं । टाटा मोटर्सको विद्युतीय एसयूभी ‘पन्च ईभी’को नयाँ फेसलिफ्ट संस्करण नेपाली बजारमा भित्रिएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ डिजाइन, ठूलो ब्याट्री क्षमता र थप आधुनिक सुविधासहित पन्च ईभी सार्वजनिक गरेको हो।

विद्युतीय सवारीसाधन प्रयोगकर्ताले सामना गर्दै आएको ‘रेन्ज एन्जाइटी’ कम गर्ने उद्देश्यले नयाँ संस्करणमा ब्याट्री क्षमता र चार्जिङ प्रविधिमा सुधार गरिएको कम्पनीले जनाएको छ। नयाँ पन्च ईभी आगामी नाइमा मोबिलिटी एक्स्पोमा समेत प्रदर्शन गरिनेछ।

नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। ४० किलोवाट आवर ब्याट्री भएको संस्करणको एआरएआई प्रमाणित रेन्ज ४ सय ६८ किलोमिटर रहेको कम्पनीको दाबी छ। वास्तविक प्रयोगमा भने यसले ३ सय ३५ देखि ३ सय ५५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ।

गाडीमा जडान गरिएको मोटरले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति करिब ९ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीले जनाएको छ। यसमा तीनवटा ड्राइभ मोड र चार तहको रिजेनेरेटिभ ब्रेकिङ प्रणाली उपलब्ध छ।

नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर पन्च ईभीमा १ सय ९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिइएको छ। त्यस्तै, ४ सय ५० मिलिमिटरसम्मको वाटर वेडिङ क्षमता रहेकाले पानी जमेको तथा केही असहज सडकमा समेत गाडी चलाउन सहज हुने कम्पनीको दाबी छ।

चार्जिङ क्षमतामा गरिएको सुधारलाई पनि नयाँ पन्च ईभीको प्रमुख विशेषताका रूपमा लिइएको छ। डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्ने बताइएको छ। त्यस्तै, १५ मिनेट चार्ज गर्दा करिब १ सय ३५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

डिजाइनतर्फ पनि नयाँ पन्च ईभीमा उल्लेख्य परिवर्तन गरिएको छ। अगाडिको भाग, पछाडिको लाइट र ड्यासबोर्डमा परिमार्जन गरिएको छ भने १६ इन्चसम्मका अलोय ह्विल प्रयोग गरिएको छ।

गाडीको भित्री भागमा डुअल–टोन ड्यासबोर्ड, भेन्टिलेटेड सिट, सनरुफ, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र एयर प्युरिफायरलगायत सुविधा दिइएको छ।

सुरक्षातर्फ पन्च ईभीमा ६ वटा एयरब्याग, हिल होल्ड असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ३ सय ६० डिग्री क्यामेरा उपलब्ध छन्। त्यस्तै, टायर प्रेसर मोनिटरिङ सिस्टम र आइसोफिक्स चाइल्ड माउन्टलाई समेत सुरक्षासम्बन्धी सुविधाका रूपमा समावेश गरिएको छ।

ठूलो ब्याट्री, छिटो चार्जिङ, बढेको रेन्ज र नेपाली सडकअनुकूल ग्राउन्ड क्लियरेन्ससहित नयाँ पन्च ईभीले नेपाली विद्युतीय एसयूभी बजारमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार १०:२८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।