Logo

अर्थ

आवश्यक परे अध्यादेश ल्याएरै सेयर बजारका समस्या समाधान गर्छौं: सेबोन अध्यक्ष भट्ट



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले सेयर बजारका विद्यमान कानुनी तथा संरचनागत समस्या समाधान गर्न आवश्यक परे अध्यादेशमार्फत कानुन संशोधन गर्नसमेत आफू अग्रसर हुने बताएका छन्।

लगातारको गिरावटसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ६ सय ५० को हाराहारीमा झरेको र बजार आफ्नो उच्चतम विन्दु ३ हजार २ सय २७ बाट करिब १८ प्रतिशतले घटेको अवस्थामा सेबोन अध्यक्ष भट्टले बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएका हुन्।

नेपाल सेयर बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा अध्यक्ष भट्टले लगानीकर्ताको हित संरक्षण र पुँजी बजारमा पारदर्शिता कायम गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ भए आवश्यक कानुनी बाटो अपनाएर भए पनि लामो समयदेखि थाती रहेका समस्या समाधान गर्ने उनको भनाइ थियो।

संघका उपाध्यक्ष भगवानबहादुर रावतको नेतृत्वमा महासचिव रविन कँडेल तथा कार्यसमिति सदस्य ऋषि भेटवाल र विवेक श्रेष्ठसहितको टोलीले सेबोन अध्यक्षसँग बजार सुधारका विषयमा छलफल गरेको थियो।

भेटमा रावतले मुलुकको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा कम हुने अवस्था र बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसकेको विषयमा ध्यानाकर्षण गराए। आर्थिक गतिविधि सुस्त रहेका बेला सेयर बजारमा हुने अस्वाभाविक उतारचढावले विशेषगरी साना लगानीकर्ताको बचत जोखिममा परेको उनले बताए।

‘सेयर बजार केही सीमित समूहले नाफा कमाउने माध्यम मात्रै बन्नु हुँदैन,’ रावतले भने, ‘यसलाई मुलुकको अर्थतन्त्र चलायमान बनाउने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्छ।’

इन्साइडर ट्रेडिङ र अफवाहमाथि प्रश्न

छलफलका क्रममा लगानीकर्ता प्रतिनिधिहरूले बजारमा हुने भित्री कारोबार, कृत्रिम रूपमा मूल्य बढाउने तथा घटाउने गतिविधि र सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह नियन्त्रणमा नियामकको भूमिकामाथि प्रश्न उठाएका थिए।

जवाफमा अध्यक्ष भट्टले बजारको नियमन तथा लगानीकर्ता सचेतनाका काम अघि बढाइसकेको बताए। उनले लगानीकर्तालाई बजारको वास्तविक अवस्था र कम्पनीको वित्तीय अवस्थाको अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरे।

प्रतिनिधिमण्डलले भने विगतमा पनि नियामक नेतृत्वबाट बजार सुधारका विषयमा पटक–पटक आश्वासन आउने गरेको तर ठूला काण्ड तथा अनियमिततामा अनुसन्धान लामो समयसम्म टुंगो नलाग्ने समस्या रहेको भन्दै प्रभावकारी कारबाहीको माग गरेको थियो।

सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङ ल्याउने तयारी

अध्यक्ष भट्टले सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङलाई व्यवहारमा लागू गर्ने तयारी भइरहेको पनि बताए। आफूले यी विषयमा लामो समय अध्ययन, अध्यापन र वकालत गरेको उल्लेख गर्दै उनले आवश्यक प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।

यी व्यवस्थाले बजारलाई थप व्यवस्थित र आधुनिक बनाउन सहयोग पुग्ने उनको दाबी थियो। साथै बोर्डको आन्तरिक पूर्वाधार र संस्थागत क्षमता अभिवृद्धि गर्दै पुँजी बजारलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने प्रतिबद्धता उनले जनाए।

‘आश्वासन होइन, कारबाही चाहिन्छ’

संघका महासचिव रविन कँडेलले बजार सुधारका लागि नियामकले आश्वासन र घोषणामा मात्र सीमित नभई कडा नियमन तथा प्रभावकारी कारबाही गर्नुपर्ने बताए।

सेबोनको नयाँ नेतृत्वले अघि सारेको श्वेतपत्र सकारात्मक भए पनि त्यसको कार्यान्वयनका लागि स्पष्ट समयसीमा तोक्नुपर्ने उनको माग थियो।

संघले नयाँ धितोपत्र ऐनमा गलत निर्णय गर्ने अधिकारीलाई व्यक्तिगत रूपमा जवाफदेही बनाउने, अनुचित रूपमा प्राप्त नाफा फिर्ता गराउने तथा नियामकीय कमजोरीमा जिम्मेवार पदाधिकारीमाथि कारबाही गर्न सकिने व्यवस्था गर्न माग गरेको छ।

त्यस्तै, सेबोनले गठन गर्ने अध्ययन तथा सुधारसम्बन्धी समितिमा सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्न पनि संघले माग गरेको छ। T+1 र T+2 फर्स्योट प्रणालीको प्रयोगमा देखिएका गुनासा तथा त्यसबाट साना लगानीकर्तामाथि पर्न सक्ने सम्भावित विभेदबारे पनि संघले स्पष्ट नीति बनाउन आग्रह गरेको छ।

संघले सर्वसाधारण लगानीकर्ताको बचत सुरक्षित हुन नसके पुँजी बजारप्रतिको विश्वास कमजोर हुने चेतावनी दिएको छ। लगानीकर्ताका माग र बजारका समस्यालाई व्यवहारमै सम्बोधन नगरेसम्म नियामकप्रतिको विश्वास कायम गर्न कठिन हुने निष्कर्ष प्रतिनिधिमण्डलले सुनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार १२:०८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।