काठमाडौं । कुमारी बैंकले चार वर्षपछि वित्तीय अवस्थामा उल्लेख्य सुधार गर्दै लाभांश बाँड्न सक्ने अवस्थामा आफूलाई फर्काएको छ।
आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ७ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाउँदै अघिल्लो वर्षको तुलनामा नाफामा ३०६ प्रतिशतको वृद्धि गरेको हो।
एनसीसी बैंकसँग मर्जरपछि आर्थिक वर्ष २०७९/८० देखि लगातार सञ्चित नोक्सानीमा रहेको कुमारी बैंकले तीन वर्षसम्म सेयरधनीलाई लाभांश वितरण गर्न सकेको थिएन।
गत आर्थिक वर्षमा भने बैंकले नाफामा उल्लेख्य सुधार मात्र गरेको छैन, अघिल्लो वर्षसम्म रहेको करिब ३ अर्ब ८५ करोड रुपैयाँ सञ्चित नोक्सानीसमेत समायोजन गरी वितरणयोग्य नाफामा फर्किएको छ।
बैंकका अनुसार गत आर्थिक वर्षमा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी र विगतमा गरिएको कर्जा नोक्सानी व्यवस्थाको राइटब्याकले मुख्य भूमिका खेलेका छन्।
गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँ थियो।
त्यस्तै, शुल्क तथा कमिसन आम्दानी १४.५५ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ। बैंकले विगतमा छुट्याएको सम्भावित कर्जा नोक्सानी व्यवस्थाबाट १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ राइटब्याक गरेको छ।
अघिल्लो आर्थिक वर्षमा भने बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ प्रोभिजनिङमा खर्च गरेको थियो। प्रोभिजनिङको दबाब घट्नु र राइटब्याकबाट आम्दानी थपिनुले यसपटक नाफामा ठूलो सुधार आएको हो।
यद्यपि, बैंकको निष्क्रिय कर्जा भने बढेको छ। कुल निष्क्रिय कर्जा अनुपात ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत पुगेको छ। तर निष्क्रिय कर्जाको प्रोभिजन कभरेज अनुपात १११.७५ प्रतिशत छ। खुद निष्क्रिय कर्जा अनुपात भने १.९४ प्रतिशत रहेको बैंकले जनाएको छ।
४ अर्बको सञ्चित नोक्सानीबाट वितरणयोग्य नाफामा कुमारी बैंकका सेयरधनीका लागि सबैभन्दा महत्वपूर्ण सुधार वितरणयोग्य नाफामा भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको सञ्चित नोक्सानी ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ थियो।
गत आर्थिक वर्षमा बैंकले ४ अर्ब ६४ करोड १२ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेपछि पुरानो सञ्चित नोक्सानी समायोजन गरेर ७९ करोड १७ लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ।
यस आधारमा बैंकले करिब ३.०२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिन्छ। यद्यपि अन्तिम लाभांश वितरण भने बैंकको सञ्चालक समितिको निर्णय, साधारणसभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि मात्रै हुनेछ। २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। अघिल्लो वर्ष ६.९४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २८.१७ रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ र मूल्य–आम्दानी अनुपात ७.४५ गुणा रहेको छ। निक्षेप र कर्जा दुवै बढ्यो बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन र कर्जा विस्तारमा समेत वृद्धि गरेको छ। बैंकको कुल निक्षेप १०.४५ प्रतिशतले बढेर ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
कर्जा प्रवाह भने ४.०७ प्रतिशतले बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। बैंकको पुँजी कोष अनुपातसमेत सुधार भएको छ। अघिल्लो वर्ष १२.३१ प्रतिशत रहेको पुँजी कोष अनुपात बढेर १३.५५ प्रतिशत पुगेको छ। प्राथमिक पुँजीकोष अनुपात ८.५१ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ। कर्मचारी खर्च भने बढेको छ।
गत आर्थिक वर्षमा कर्मचारी खर्च १३.४८ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ थियो। तर अन्य सञ्चालन खर्च ४.६४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १ अर्ब ५ करोड १५ लाख रुपैयाँ रहेको यस्तो खर्च घटेर १ अर्ब २ करोड ७४ लाख रुपैयाँमा आएको छ। बैंकको आधार दर ५.०८ प्रतिशत रहेको छ।
स्प्रेड दर भने अघिल्लो वर्षको ३.५९ प्रतिशतबाट घटेर ३.११ प्रतिशतमा आएको छ। बैंकले ब्याज उठ्न नसकेको रकमबापत ३६ अर्ब ४२ करोड रुपैयाँ नियामकीय जगेडा कोषमा राखेको छ।
गैरबैंकिङ सम्पत्ति बिक्रीबाट करिब १४ करोड रुपैयाँ भने नियामकीय जगेडाबाट फिर्ता गरेको छ। समग्रमा, निष्क्रिय कर्जा उच्च रहनु कुमारी बैंकका लागि अझै चुनौतीकै रूपमा देखिए पनि ब्याज आम्दानीमा सुधार, शुल्क तथा कमिसन आम्दानीको वृद्धि र विगतमा गरिएको प्रोभिजनको राइटब्याकले बैंकलाई चार वर्षपछि पुनः लाभांश वितरण गर्न सक्ने अवस्थामा पुर्याएको छ। अब बैंकका लागि नाफालाई निरन्तरता दिनुका साथै खराब कर्जा घटाउनु मुख्य चुनौती हुनेछ।















प्रतिक्रिया