काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू काठमाडौको भृकुटीमण्डपमा आयोजना भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेकाे छ ।
कम्पनीले हाल दुईवटा विद्युतीय बसको मोडल सार्वजनिक गरेको हाे । जसअन्तर्गत सिटी ईभी बसको मूल्य १ करोड १४ लाख ५० हजार र लङ रेन्ज ईभी बसको मूल्य १ करोड २४ लाख ५० हजार कायम गरी सार्वजनिक गरिएको र नाइमा अटो एक्स्पो भरि बुकिङ गर्ने ग्राहकहरूको लागि सो मूल्यमा ५ लाख रुपैयाँ छुट दिइने जानकारी समेत गराएको छ ।
अर्गनाइजेशनले नेपालमा भारतको फोर्स मोटर्स र चीनको एसएआईसी ग्रुप अन्तर्गतको म्याक्ससका सवारी साधनहरू समेत आधिकारिक रूपमा बिक्री गर्दै आएको छ । सरकारले ठूला विद्युतीय बसलाई प्राथमिकता दिने नीति लिएको र ग्राहकको माग पनि बढेको अवस्थालाई ध्यानमा राख्दै कम्पनीले ७.२ मिटर लम्बाइका नयाँ बसहरू भित्र्याएको हो ।
प्राविधिक सुविधाहरूको हकमा, यी बसमा ५ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी दिइएको छ, जसलाई ग्राहकले चाहेमा थप ३ वर्षको ‘एक्स्टेन्डेड वारेन्टी’ समेत खरिद गर्न सक्नेछन् ।
हाल सार्वजनिक गरिएका बसहरू विना एयरकन्डिसन रहे पनि ग्राहकको माग अनुसार एसी र लक्जरी सिटहरू थप गर्न सकिने कम्पनीले जनाएको छ । बसमा एउटा वा दुइटा प्रवेशद्वार जडान गर्ने विकल्प पनि छ, तर दुईवटा ढोका राख्दा बसको क्षमताबाट दुईवटा सिट घट्ने प्राविधिक जानकारी समेत कम्पनीले गराएको छ ।
कम्पनीले निकट भविष्यमा डोङफेंगकै ७.२ मिटरको स्कुल बस, ९ मिटरको ३८ सिटे र १२ मिटरको ५२ सिटे ठूला बसहरू पनि नेपाली बजारमा ल्याउने तयारी गरेको जनाएको छ । यी बसहरू हाल बजारमा उपलब्ध अन्य कम्पनीका बसभन्दा कम मूल्यमा उपलब्ध हुने दाबी गरिएको छ ।















प्रतिक्रिया