Logo

प्रमुख समाचार

केपी ओली सरकार र नेपाली कांग्रेस दुवै असफल, अब राजतन्त्र फर्किन्छ : अध्यक्ष राणा



राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल पनि असफल भयो । दुवै असफल भए । उनीहरुले अवसरको सदुपयोग गर्न सकेनन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘सरकार र कांग्रेस दुवै असफल भए । अब हाम्रो पालो आयो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तै भए नेपालमा राजतन्त्रपनि फर्किन सक्ने दाबी गरे । उनले भने,‘राजतन्त्र फर्किन सक्छ्।’ राणाले ओली सरकारलाई दुई तिहाई ल्याएकोमा भने मान्नैपर्ने तर्क गरे । उनले भने,‘ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलो पटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।’

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए । उनले भने,‘उहाँले यो मौका प्रयोग गर्न असफल हुनुभयो । यो एक वर्षमा सरकारले के–के राम्रो काम गर्यो त भनेर पाना–पाना पल्टाईपल्टाई हेर्यौं भने मौका खेर फालेको पाईन्छ । सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शुन्य छ।’

व्यापार घाटापनि डरलाग्दो रहेको पनि उनको भनाई छ । उनले भने,‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन् । हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन् । काम केही भएकै छैन् ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको पनि उनको आरोप छ ।

उनले अघि थपे,‘बुढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई किन दिईयो ? यसरी दिँदा भ्रष्टाचार भयो कि भएन ?’ त्यस्तै उनले वाईडबडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको आरोप लगाए ।

कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाए । उनले भने,‘अहिले कुटनीतिक सन्तुलन गुमेको छ । हामी एकतीर ढल्केका छौं।’ उनले भेनेजुयला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरे ।

उनले भने,‘भित्तासित कुहिनो ठोक्ने काम भयो । यस्तो गर्नुहुँदैनथियो । भेनेजुयलासँग नेपालको दौत्य सम्बन्ध छ कि छैन मलाई त सन्देह नै लाग्छ।’ सरकारले कुटनीतिक रुपमा कुनै पनि सिप तथा क्षमता देखाउन नसकेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारले सही काम गरेकै छैन् ।’ यद्धपी उनले राजनीतिक रुपमा भने प्रधानमन्त्री सफल भएको दाबी गरे । उनले भने,‘किनभने उहाँले दुई तिहाई बहुमत ल्याउनुभयो।’

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  १ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।