काठमाडौँ । नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ।
सभापति गगन थापाको संयोजकत्वमा १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको छ। समितिमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठसहित केन्द्रीय सदस्यहरू छन्। प्रताप पौडेललाई सदस्यसचिव तथा प्रमुख राजनीतिक सल्लाहकार तोकिएको छ।
त्यस्तै, महाधिवेशन व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन समितिको संयोजकमा उमेश श्रेष्ठ, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे र सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा तोकिएका छन्।
अतिथि स्वागत, समारोहस्थल, प्रदेश तथा स्थानीय तह समन्वय, ज्येष्ठ महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, भोजन, आवास, स्वास्थ्य, यातायात तथा सांस्कृतिक–साहित्यिक संयोजनका लागि पनि छुट्टाछुट्टै समिति गठन गरिएको कांग्रेसले जनाएको छ। विधान मस्यौदा समितिमा ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको छ।
यसैबीच, भारी वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै कांग्रेसले मकवानपुरमा शनिबारका लागि तय भएको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १३ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते गर्ने भएको छ। मौसम पूर्वानुमान तथा केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार मिति परिवर्तन गरिएको जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिएका छन्। अन्य जिल्लामा पनि मौसमको अवस्थाअनुसार क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम सारिएको कांग्रेसले जनाएको छ।


















प्रतिक्रिया