काठमाडौं । उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनालाई लिएर सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएकी छन्।
श्रेष्ठलाई लक्षित गर्दै फेसबुकमा धारणा सार्वजनिक गर्दै ठाकुरले उनलाई ‘पत्रकारको भेषमा राक्षस’ को संज्ञा दिएकी छन्। उनले श्रेष्ठमाथि श्रीसा कार्कीलाई आत्महत्या गर्न बाध्य पारेको तथा अन्य युवतीलाई समेत आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाएकी छन्।
ठाकुरले श्रेष्ठले धेरै महिलाको चरित्र हत्या गरेको दाबी गर्दै उनको प्रकाशन ‘जनआस्था’ पत्रकार आचारसंहिताविपरीत रहेको आरोपसमेत लगाएकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो श्रीसा कार्कीलाई आत्महत्या गराउने र कयौं युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो । यसले कयौं महिला दिदीबहिनीको चरित्र हत्या गरेको छ । यसको जनआस्था पत्रकार आचारसंहिता विपरीत रहेको छ । यो राक्षसलाई के भन्ने ?’
यसअघि प्रहरीले श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरेको थियो। उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी परेको बताइएको छ।
उपसभामुख ठाकुरको पछिल्लो अभिव्यक्तिपछि श्रेष्ठको पक्राउ तथा उनीमाथि लगाइएका आरोपको विषय थप चर्चामा आएको छ।

















प्रतिक्रिया