Logo

अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भन्यो- नियमित बैंकिङ कारोबारमा कुनै असर परेको छैन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध नियमित बैंकिङ कारोबारसँग सम्बन्धित विषयलाई लिएर मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार भइरहेको नियमित कामकारबाहीको विषयलाई लिएर मुद्दा दायर भएको जनाएको हो।

बैंकका अनुसार उक्त घटनाका कारण बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध सिर्जना भएको छैन। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको जनाउँदै संस्थाको सबलता, ग्राहकको हित तथा बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखेर सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध सञ्चालन भइरहेको बैंकले स्पष्ट पारेको छ।

‘बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिन आग्रह गर्दछौं,’ बैंकले विज्ञप्तिमार्फत भनेको छ।

बैंकले आफूविरुद्ध आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ। बैंकसँग सम्बन्धित विषयमा आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गर्दै बैंकले गलत तथा अपुष्ट सूचनाका कारण अनावश्यक भ्रम सिर्जना हुन सक्ने जनाएको छ।

बैंकले आफ्ना समस्त निक्षेपकर्ता, ग्राहक, सेयरधनी तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ।

बैंकले नियमित सेवा प्रवाहमा कुनै समस्या नरहेको स्पष्ट पार्दै ग्राहकलाई बैंकिङ कारोबारमा कुनै किसिमको आशंका नराख्न आग्रह गरेको छ। बैंकका अनुसार संस्थागत नेतृत्व, व्यवस्थापन र दैनिक बैंकिङ गतिविधि नियमित रूपमा सञ्चालन भइरहेका छन्।

एनआईएमबीले पछिल्लो घटनालाई कानुनी प्रक्रियाको विषयका रूपमा लिँदै बैंकको सेवा, वित्तीय अनुशासन र ग्राहक हितमा कुनै असर पर्न नदिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार १३:४९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।