काठमाडौं । नेपाल आयल निगमले साविकको तुलनामा करिब २० प्रतिशत बढी एलपी ग्यास आयात तथा बजारमा बिक्री वितरण भइरहेको जनाएको छ। तर, बजारमा सहज रूपमा ग्यास नपाएको उपभोक्ताको गुनासो भने कायमै रहेको निगमले जनाएको छ।
निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा गत असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामका भरिएका ग्यास सिलिन्डर बिक्री वितरण भइरहेको उल्लेख छ। आपूर्ति बढाइए पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आएपछि निगमले बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ।
निगमका अनुसार द्रुत प्रतिकार्य डेस्कमार्फत गरिएको बजार अनुगमनका क्रममा कतिपय होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस लगायत व्यावसायिक प्रतिष्ठानले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखेको पाइएको छ।
निगमले त्यस्ता प्रतिष्ठानलाई अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ। यसअघि नै बढी सिलिन्डर राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न पनि निगमले निर्देशन दिएको छ।
निगमले सूचनाविपरीत कुनै स्थानमा ग्यास सिलिन्डर मौज्दात राखेको भेटिए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।















प्रतिक्रिया