Logo

समाचार

थबाङको कोटलबारा पहिरोः मृत्यु हुनेको संख्या १० पुग्यो, ३ जना अझै बेपत्ता



रोल्पा। रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।

पहिरोमा परी घाइते भएका २ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ भने बेपत्ता भएका ३ जनाको खोजी कार्य अझै जारी रहेको रोल्पा प्रहरीले जनाएको छ।

रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोमा पुरिएर १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको मृत्यु भएको छ।

पहिरोमा बगेर प्युठानमा फेला परेका मृतकमा थबाङ ५ कोटलबाराकै कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुनकुमारी पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगर रहेका छन्।

घटनामा सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ।

पहिरोमा परी ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिलबहादुर पुन मगर बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य निरन्तर जारी रहेको छ।-रासस

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार ०६:५८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।