Logo

उद्योग

हतारमा नीति र ऐन ल्याउने परिपाटी अन्त्य गर्न निजी क्षेत्रको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन्। उनले नीति निर्माणअघि पर्याप्त छलफल र संवाद गरी निजी क्षेत्रका सुझावलाई प्रभावकारी रूपमा समेट्नुपर्ने बताएका हुन्।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग सुझाव माग्ने तर त्यसलाई नीति निर्माणमा समेट्न चासो नदिने प्रवृत्तिले कार्यान्वयनमा समस्या देखिने गरेको बताए।

‘कुनै पनि नीति वा ऐन ल्याउनुअघि पर्याप्त छलफल र संवाद आवश्यक छ,’ उनले भने, ‘हतारमा सुझाव माग्ने र पछि सुझाव समेटिएन भनेर निजी क्षेत्र निराश हुने अवस्था अन्त्य हुनुपर्छ।’

नीति निर्माण प्रक्रियामा निजी क्षेत्रलाई औपचारिक उपस्थितिका लागि मात्र सहभागी नगराई वास्तविक साझेदारका रूपमा समेटिनुपर्ने उनको भनाइ थियो।

अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले व्यावसायिक वातावरण सुधार, लगानी विस्तार तथा रोजगारी सिर्जनासम्बन्धी नीति बनाउँदा निजी क्षेत्रको अनुभव र सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए।

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध नियन्त्रणमुखी नभई विश्वास र साझेदारीमा आधारित हुनुपर्नेमा उनले जोड दिए। व्यावसायिक वातावरण सहज र लगानीमैत्री भए निजी क्षेत्रको क्षमता विस्तारसँगै अर्थतन्त्र र सरकारको राजस्वसमेत बढ्ने उनको भनाइ थियो।

अध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्रलाई दिगो र सन्तुलित बनाउन पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए। पर्यटनमार्फत लगानी, रोजगारी र विदेशी मुद्रा आर्जन बढाउन सकिने भएकाले यस क्षेत्रको विकासका लागि अनुकूल नीति आवश्यक रहेको उनले उल्लेख गरे।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार १८:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।