काठमाडौं । एसियन भिलेज रिसोर्टलाई प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको आरोपमा प्रभु बैंकका म्यानेजर नन्दराज जोशी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्जा प्रवाहमा कैफियत देखिएको प्रारम्भिक अनुसन्धानका आधारमा जोशीलाई बिहीबार प्रभु बैंकको कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि बैंकबाट प्रवाह भएको कर्जा घोषित प्रयोजनमा प्रयोग नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा उक्त रकम सोही समूहअन्तर्गतका अन्य ऋणी कम्पनीको बक्यौता भुक्तानीमा प्रयोग भएको देखिएको सीआईबीले जनाएको छ । जोशीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ ।
उनलाई पक्राउ गर्न सीआईबीले उच्च अदालत पाटनबाट अनुमति लिएको थियो ।
यसअघि यही प्रकरणमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पक्राउ परिसकेका छन् । कर्जा प्रवाह, रकमको प्रयोग र घटनामा संलग्न अन्य व्यक्तिका सम्बन्धमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।















प्रतिक्रिया