Logo

प्रमुख समाचार

बैंकहरूको नाफा ७० अर्ब पुग्यो, कुन बैंकको अवस्था कस्तो?



काठमाडौं । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३२.३२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको कुल खुद नाफा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

नाफा कमाउनेमा नबिल बैंक ७ अर्ब ९० करोडका साथ अग्रस्थानमा छ । दोस्रोमा कुमारी बैंक ७ अर्ब ३८ करोड र तेस्रोमा ग्लोबल आइएमई बैंक ६ अर्ब २२ करोड रहेकाे छ । कुमारी बैंकको नाफा ३०५.९६ प्रतिशतले बढेको छ ।

यस अवधिमा प्रभु बैंकले २४ करोड १२ लाख रुपैयाँ खुद नोक्सान व्यहोरेको छ । अघिल्लो वर्ष ८७ करोड २३ लाख रुपैयाँ नाफामा रहेको प्रभु बैंक यस पटक भने घाटामा गएको हो ।

त्यस्तै, ४ वटा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । लक्ष्मी सनराइज बैंकको नाफा २२.७७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५.३९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३६.५९ प्रतिशत र कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशतले गिरावट आएको हो ।

यता, अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ भारी नोक्सानमा रहेको एनआईसी एसिया बैंकले भने यस वर्ष केही सुधार गर्दै १८ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा बढाउनेमा हिमालयन बैंक रहेको छ । अघिल्लो वर्ष जम्मा १२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको हिमालयन बैंकको नाफा यस वर्ष १०४१.४० प्रतिशतले बढेर १ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार १२:१६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।