Logo

खेलकुद

लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्।

बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए।

उनले खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन राम्रो रहेको र विपक्षीका चार–पाँच विकेट लिइसकेको अवस्थामा पनि दबाब कायम राख्न नसकेको बताए।

‘हामीले सात–आठ ओभरसम्म एकदम राम्रो गरिरहेका थियौँ। टिमको मोमेन्टम पनि हामीसँगै थियो। चार–पाँच विकेट लिइसकेका थियौँ। तर इनिङ नसकिँदासम्म धैर्य राख्नुपर्ने थियो, जुन हामीले गर्न सकेनौँ,’ उनले भने।

सन्दीपले टोलीको सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रहेको स्वीकार गरे। उनका अनुसार टोलीले चारदेखि पाँचवटासम्म क्याच छाडेको थियो। विशेषगरी दोस्रो इनिङमा बलिङ गर्न कठिन अवस्था रहे पनि फिल्डिङमा सुधार गर्न नसक्दा टोलीले त्यसको मूल्य चुकाउनुपरेको उनले बताए।

‘हामीले आज एकदमै कमजोर फिल्डिङ ग¥यौँ। टिमका रूपमा चार–पाँचवटा क्याच छाड्यौँ। यस्तो अवस्थामा बलरहरूलाई खासै सहयोग हुँदैन। ड्यु फ्याक्टर थियो, पिचले पनि साथ दिइरहेको थिएन।

यस्तो अवस्थामा फिल्डिङमा पनि कमजोर प्रदर्शन हुनु कुनै पनि टिमका लागि स्वीकार्य हुँदैन,’ उनले भने।उनले समग्रमा टोलीको ब्याटिङ र बलिङ खराब नभए पनि राम्रो प्रदर्शनलाई जितमा बदल्न नसकेको बताए।

अघिल्लो खेलमा पनि राम्रो ब्याटिङ गर्दा गर्दै टोलीले विकेट गुमाएको र यस खेलमा पनि विपक्षीलाई खेलमा फर्किने अवसर दिएको उनको भनाइ थियो।

कर्णालीविरुद्धको खेलमा १८७ रन बनाउनु राम्रो स्कोर भएको उल्लेख गर्दै उनले सुरुवाती चरणमा विपक्षीका विकेट निकालेर पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए।

‘हामीले छिट्टै पाँच विकेट लिएका थियौँ। पावर प्लेमा पनि तीन–चार विकेट निकालेका थियौँ। तर त्यसपछि झन्डै १० भन्दा बढी गल्ती ग¥यौँ। तीमध्ये सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो,’ उनले भने।

कर्णालीका सोमपाल कामी, पवन र गुलशन झाको साझेदारी तथा अन्तिम चरणको प्रदर्शनको प्रशंसा गर्दै सन्दीपले विपक्षी टोलीलाई जितको श्रेय दिए।

सन्दीपले लोकेशको ब्याटिङ प्रदर्शनको पनि प्रशंसा गरे। लोकेशले आफ्नो क्षमतामाथि विश्वास गर्दै चुनौतीपूर्ण अवस्थामा पनि राम्रो प्रदर्शन गरिरहेको उनको भनाइ थियो।

उनले खेलको अन्तिम चरणसम्म पनि आफूले टोलीलाई जिताउन सक्ने विश्वास राखेको बताए। दोस्रो इनिङमा बलिङ गर्न कठिन भए पनि आफू खेल जिताउने योजनासहित मैदानमा रहेको उनको भनाइ थियो।

‘मलाई अन्तिम ओभरसम्म पनि यो खेल टिमका लागि जिताउन सक्छु भन्ने विश्वास थियो। आठ ओभर बाँकी हुँदा पनि म संघर्ष गर्न तयार थिएँ। तर क्रिकेटमा यस्ता क्षणहरू आउँछन्। खेलले हामीलाई सिकाएको छ,’ उनले भने।

सन्दीपले हारका बाबजुद टोलीले समग्रमा राम्रो क्रिकेट खेलिरहेको दाबी गर्दै आगामी खेलमा गल्ती सुधार गर्ने संकेत गरे। उनले कर्णाली याक्सलाई जितका लागि बधाई दिँदै क्रिकेटमा एउटा टोलीले जित्ने र अर्कोले हार्ने भएकाले विपक्षीलाई श्रेय दिनुपर्ने बताए।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार ०८:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।