Logo

राजनीति

वामपन्थी शक्तिका पहल एकीकृत हुँदा मात्रै उपलब्धि हासिल हुन्छ: शक्ति बस्नेत



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूका फरक–फरक पहल र गतिविधिलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार समाजवाद अध्ययन केन्द्र नेपालले आयोजना गरेको ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ राष्ट्रिय बहस कार्यक्रममा बोल्दै बस्नेतले राष्ट्रियता, राष्ट्रिय हित र लोकतन्त्रका पक्षमा वामपन्थी शक्तिहरूले गर्दै आएका प्रयासलाई एकताबद्ध गर्न सके मात्रै त्यसले ठोस परिणाम दिन सक्ने बताए ।

उनले विगतमा वामपन्थी शक्तिका पहल र गतिविधि अलग–अलग हुँदा त्यसको परिणाम अपेक्षाअनुसार आउन नसकेको उल्लेख गरे । ‘हामीले विभिन्न कोणबाट, विभिन्न ढङ्गले राष्ट्रियता, राष्ट्रिय हितको पक्षमा, लोकतन्त्रको पक्षमा योगदान गर्दै आयौँ। ती सबै कुराले हामीलाई सिकाएको छ,’ उनले भने ।

उनले वामपन्थी शक्तिहरूका सबै पहलकदमीलाई एकीकृत र एकताबद्ध रूपमा अघि बढाउँदा मात्रै उपलब्धि हासिल भएको बताए । ‘जतिबेला हाम्रा पहलहरू अलग–अलग भए, हाम्रा गतिविधिहरू फरक–फरक भए, त्यसले परिणाममा व्यक्त हुन सकेन। जतिबेला हाम्रा सबै पहलकदमीहरूलाई एकीकृत ग¥यौँ, एकताबद्ध भएर प्रस्तुत ग¥यौँ, त्यतिबेला सबै प्रयत्नहरू उपलब्धिमा संश्लेषण हुन पुगे,’ उनले भने ।

बस्नेतले राजनीतिक शक्तिहरूले आफ्ना इच्छा र चाहनालाई सामाजिक जीवनको यथार्थसँग जोडेर अघि बढाउनुपर्ने धारणा पनि राखे ।

उनले भने, ‘कहिलेकाहीँ हाम्रा इच्छा र चाहनाहरू सामाजिक जीवनका यथार्थभन्दा अलि परतिर पुगे । त्यतिबेला हाम्रा प्रयासहरूले सफलता र उपलब्धिलाई भेट्न सकेनन्।’

उनले विगतका अनुभवबाट पाठ सिक्दै वामपन्थी आन्दोलनलाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार १६:४६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।