Logo

मनोरञ्जन

शिव परियार र समीक्षा अधिकारी अमेरिकामा ‘दशैं–तिहार धमाका’ गर्दै, मुक्ति एन्ड रिभाइभलको पनि टुर



काठमाडौं । चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारी सांगीतिक प्रस्तुति लिएर अमेरिकाका विभिन्न सहरमा पुग्ने भएका छन् । थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा उनीहरूले ‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ गर्न लागेका हुन् ।

उनीहरूसँगै नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि आफ्नो ३० वर्षे सांगीतिक यात्राको उत्सव मनाउँदै अमेरिकाका विभिन्न सहरमा विशेष प्रस्तुति दिने भएको छ ।

दुवै कार्यक्रममार्फत अमेरिकामा रहेका नेपाली समुदायलाई मनोरञ्जनसँगै नेपाली कला, संगीत र संस्कृतिसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ अन्तर्गत शिव परियार र समीक्षा अधिकारीले करिब २० वटा कार्यक्रममा प्रस्तुति दिनेछन् । टुरको सुरुआत सेप्टेम्बर २५ मा अस्टिन र सेप्टेम्बर २६ मा डलासबाट हुनेछ ।

त्यसपछि अक्टोबर २ मा कोलम्बस, ३ मा एक्रोन, ९ मा ह्यारिसबर्ग, १० मा ल्यान्कास्टर, ११ मा एशबर्न, १७ मा मिलवाकी र १८ मा सिकागोमा कार्यक्रम हुनेछ ।

त्यस्तै, अक्टोबर २४ मा चार्लोट, २५ मा ¥याले, ३० मा नेब्रास्का, ३१ मा न्युयोर्क तथा नोभेम्बर १ मा ब्राडफोर्ड र हार्टफोर्डमा कार्यक्रम आयोजना गरिनेछ । नोभेम्बर ७ मा फ्लोरिडामा समेत कार्यक्रम हुने र अन्य केही मिति थपिन सक्ने आयोजकले जनाएको छ ।

यता, मुक्ति एन्ड रिभाइभलले ‘म्युजिकल रिभाइभल–साधना भण्डारी ३० औं वार्षिकोत्सव टुर’मार्फत आफ्नो सांगीतिक यात्रा प्रस्तुत गर्ने भएको छ ।

‘द लिगेसी, द ब्लुज, द रिभाइभल’ नारासहित आयोजना हुने कार्यक्रममा ब्यान्डको ३० वर्षे ब्लुज यात्रासँगै साधना भण्डारीको ३० औं वार्षिकोत्सवलाई विशेष रूपमा मनाइनेछ ।

ब्यान्डको तालिकाअनुसार सेप्टेम्बर १२ मा डलास, १८ मा ह्युस्टन, १९ मा सेन्ट लुइस र २६ मा न्यु ह्याम्पसायरमा प्रस्तुति हुनेछ । त्यसैगरी, अक्टोबर २ मा चार्लोट, ९ मा न्युयोर्क र ११ मा डीटी फेस्टमा कार्यक्रम आयोजना हुनेछ । अक्टोबर १७ र १८ का कार्यक्रमको स्थान भने तय हुन बाँकी रहेको जनाइएको छ ।

आयोजकका अनुसार चाडपर्व विशेष कार्यक्रममार्फत अमेरिकामा रहेका नेपाली समुदायमाझ दशैं–तिहारको सांस्कृतिक माहोल पु¥याउने तथा नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । कार्यक्रमबाट संकलित रकमको केही हिस्सा गरिब तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्तिमा प्रयोग गरिने बताइएको छ ।

कार्यक्रमका संयोजक प्रयास भुसाल हुन् । अमेरिकाका संस्थापक अञ्जना बुढाथोकी सापकोटा र सुरेश सापकोटा तथा बजार व्यवस्थापनमा आदित्य लाखे रहेका छन् । कार्यक्रमको प्रायोजकमा अमेरिकाको ओनेस्ट रियलस्टेट रहेको छ ।

थ्रीई इन्टरटेनमेन्टले यसअघि महेश–अस्मिता, ‘कमेडी च्याम्पियन्स’, चलचित्र ‘महाजात्रा’लगायतका टिमसँग सहकार्य गरी अमेरिकामा दर्जनौँ सांस्कृतिक कार्यक्रम आयोजना गरिसकेको छ ।

करिब २० वर्षअघि स्थापना भएको संस्थाले अमेरिकामा रहेका नेपाली समुदायलाई लक्षित गरी सांस्कृतिक कार्यक्रम, कलाकारका टुर तथा विभिन्न उत्सव आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार २०:०८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।