काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार सम्पन्न भएको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा जारी बैठक सोमबार सकिएको हो।
बैठकको समापनका क्रममा सभापति थापाले समसामयिक राजनीतिक घटनाक्रम तथा पदाधिकारी र केन्द्रीय सदस्यहरूले उठाएका विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए।
बैठकमा छलफल भएका विषय र केन्द्रीय कार्यसमितिले पारित गरेका निर्णय भने कांग्रेसले मंगलबार सार्वजनिक गर्ने जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले मंगलबार दिउँसो ३ बजे केन्द्रीय कार्यालयबाट निर्णय सार्वजनिक गर्नेछन्।
बैठकको अन्तिम दिन नौ जना नेताले धारणा राखेका थिए। धारणा राख्नेमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला पन्त, कर्णबहादुर बुढा र मुक्ताकुमारी यादव थिए।
त्यस्तै, केन्द्रीय सदस्य विनोदकुमार चौधरी, प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभापति ललितजंग शाहीले पनि बैठकमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टीभित्र उठेका विभिन्न विषयमा छलफल भएको थियो।
बैठकबाट पारित निर्णयमा संगठन, समसामयिक राजनीति तथा पार्टीभित्रका अन्य विषयमा के–कस्ता निर्णय भएका छन् भन्ने विवरण भने मंगलबार दिउँसो ३ बजे सार्वजनिक भएपछि मात्र स्पष्ट हुनेछ।
















प्रतिक्रिया