Logo

अर्थ

अर्थमन्त्रीद्वारा पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई पुरस्कार रकम हस्तान्तरण



काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका छन्। २५० रुपैयाँमा बिजुलीको बल्ब खरिद गर्दा जोशीले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रममा जोशीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

पुरस्कार हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले जोशीलाई सरकारको करदाता प्रोत्साहन कार्यक्रमको दूत बन्न आग्रह गरे। उनले ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने सन्देश समाजमा फैलाउन पनि आग्रह गरे।

‘हेमराजजी, बधाइ छ। तपाईं पहिलो बम्पर उपहार विजेता हुनुहुन्छ। तपाईं सरकारको यो कार्यक्रमको दूत बन्नुहोस्, सरकारले अघि बढाएको ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने कुरा समाजमा फैलाउनुहोस्,’ मन्त्री वाग्लेले भने।

यसैगरी, साउनको पहिलो पाक्षिकमा गैँडाकोट, नवलपरासीका हिमाल अर्यालले १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जितेका छन्। साथीहरूसँग आइसक्रिम खाँदा गरेको कारोबारका आधारमा अर्याल पुरस्कारका विजेता बनेका हुन्।

पुरस्कार रकममा २५ प्रतिशत कर कट्टीपछि अर्यालले १ लाख रुपैयाँ नगद प्राप्त गरेका छन्। अर्थमन्त्री वाग्लेले उनलाई पनि पुरस्कार रकम हस्तान्तरण गरे।

पहिलो पाक्षिकका अन्य विजेतालाई भने यसै साता सम्बन्धित आन्तरिक राजस्व कार्यालयमार्फत नगद पुरस्कार प्रदान गरिने आन्तरिक राजस्व विभागले जनाएको छ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलवार ०७:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।