Logo

अर्थ

पाथीभरामा एक वर्षमा ४ करोड ८२ लाख रुपैयाँ भेटी संकलन



ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा ४ करोड ८२ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि असारसम्म ४ करोड ८२ लाख ३ हजार ८ सय ५५ रुपैयाँ भेटी संकलन भएको हो ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार साउनमा १० लाख ३९ हजार, भदौमा ९ लाख ९७ हजार, असोजमा ३३ लाख ८२ हजार र कात्तिकमा ३४ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको थियो । मंसिरमा ७५ लाख ४९ हजार १ सय र पुसमा २४ लाख २५ हजार रुपैयाँ भेटी उठेको छ ।

यस्तै माघमा १८ लाख ४७ हजार ५ सय, फागुनमा ३१ लाख १० हजार र चैतमा ५८ लाख ४४ हजार ५ सय रुपैयाँ संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै वैशाखमा १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको थियो । एकै महिनामा १ करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको यो पहिलो रेकर्ड भएको हाङबाङले बताए ।

जेठमा ४६ लाख ६० हजार ६ सय र असारमा ३२ लाख ७२ हजार ६ सय ५५ रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ ।

समितिका अनुसार उक्त अवधिमा २५ लाख २ हजार ७८ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

यसैबीच, चालु आर्थिक वर्षको साउन महिनामा पाथीभरामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ । उक्त अवधिमा २ हजार ४ सय ६९ जना दर्शनार्थीले मन्दिरमा पूजापाठ गरेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार १२:३०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।