सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २१ मत परेको छ ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा आजको मतदानमा ३६ जना सदस्य सहभागी भएका थिए। मतदानमा प्रस्तावको पक्षमा २१ मत र विपक्षमा २ मत परेको सभामुखले घोषणा गरेका छन् ।
प्रस्तावको पक्षमा परेको २१ मत प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको हो ।
मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम १५१ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।
नेकपा र नेकपा एमालेबीचको सत्ता समीकरणका कारण मुख्यमन्त्री शाहीको पक्षमा बहुमत पुग्ने अवस्था यसअघि नै देखिएको थियो । ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ भने सत्ता साझेदार दलसँग २४ सांसदको समर्थन रहेको थियो ।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई प्रदेश सरकार सञ्चालनका लागि थप राजनीतिक आधार प्राप्त भएको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रालय भागबण्डामा सहमति जुट्न ढिलाइ हुँदा मुख्यमन्त्री नियुक्त भएको लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।
















प्रतिक्रिया