Logo

बीमा

निर्जीवन बीमा कम्पनीको नाफा झन्डै ४० प्रतिशतले घट्यो



काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य गिरावट आएको छ । १४ निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीहरूको समग्र खुद नाफा झन्डै ४० अर्थात्  ३९.२१ प्रतिशतले घटेको हो ।

सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ कम्पनीले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको कुल खुद नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ थियो ।

अघिल्लो आर्थिक वर्ष ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको ओरियन्टल इन्स्योरेन्सले गत आर्थिक वर्षमा भने उल्लेख्य सुधार गरेको छ । कम्पनीले ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाउँदै १४ कम्पनीमध्ये सबैभन्दा धेरै नाफा कमाउने कम्पनी बनेको छ ।

यता नेसनल इन्स्योरेन्स भने अझै घाटामै छ । अघिल्लो वर्ष १५ करोड ७ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा १३ करोड १० लाख रुपैयाँ नोक्सान व्यहोरेको छ । १४ कम्पनीमध्ये घाटामा रहने नेसनल एक्लो कम्पनी हो ।

समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सबाहेक नाफामा रहेका सबैजसो कम्पनीको खुद नाफा घटेको छ । प्रभु इन्स्योरेन्सले भने नाफा १९.७१ प्रतिशतले बढाएर २४ करोड ६४ लाख रुपैयाँ पुर्‍याएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा २० करोड ५८ लाख रुपैयाँ थियो ।

नाफाका आधारमा ओरियन्टलपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) दोस्रो स्थानमा छ । कम्पनीको खुद नाफा ३२.७५ प्रतिशतले घटेर ३७ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ ।

राष्ट्रिय बीमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १९.४६ प्रतिशतले घटेको हो ।

त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३३ करोड ७८ लाख, सिद्धार्थ प्रिमियरले ३२ करोड ६८ लाख र नेको इन्स्योरेन्सले २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यी कम्पनीहरूको नाफा क्रमशः ३६.५३ प्रतिशत, ५६.७५ प्रतिशत र ५०.१९ प्रतिशतले घटेको छ ।

प्रतिशतका आधारमा सबैभन्दा ठूलो गिरावट आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा देखिएको छ । अघिल्लो आर्थिक वर्ष ३६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ९८.८९ प्रतिशतले घटेर ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको नाफा ७१.२२ प्रतिशतले घटेर १३ करोड रुपैयाँ, सानिमा जीआईसीको ६१.३९ प्रतिशतले घटेर १३ करोड रुपैयाँमा सीमित भएको छ ।

नेपाल इन्स्योरेन्सको खुद नाफा ५९.६९ प्रतिशतले घटेर १२ करोड ७५ लाख रुपैयाँ, युनाइटेड अजोडको ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको नाफा ६२.३१ प्रतिशतले घटेर ५ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।

समग्रमा, गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको नाफामा आएको गिरावटले बीमा क्षेत्रको वित्तीय प्रदर्शनमा दबाब देखाएको छ । केही कम्पनीले नाफामा सुधार गरे पनि अधिकांश कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा घटेको वित्तीय विवरणले देखाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार १८:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।