Logo

अर्थ

मुक्तिनाथ विकास बैंकले ल्यायो विशेष कृषि तथा एसएमई कर्जा योजना



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) व्यवसायका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ।

चाडपर्वको समयमा आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह गरिने विभिन्न कर्जा शीर्षकमा विशेष सुविधा उपलब्ध गराउने जनाएको छ।

बैंकका अनुसार विशेष योजनाअन्तर्गत कृषि तथा एसएमई कर्जामा बेस रेटमा प्रकाशित प्रिमियम रेट मात्र थप गरी कर्जा उपलब्ध गराइनेछ। यस योजनामा कृषि तथा एसएमई कर्जा शीर्षकमा न्यूनतम ०.५० प्रतिशत प्रिमियम रेटमै कर्जा लिन सकिने बैंकले जनाएको छ।

ग्राहकलाई थप सहुलियत प्रदान गर्ने उद्देश्यले कर्जा प्रवाह गर्दा लाग्ने कर्जा प्रशासनिक शुल्क (लोन एडमिनिस्ट्रेटिभ चार्ज) मा २५ प्रतिशत छुटसमेत प्रदान गरिनेछ।

बैंकले चाडपर्वको समयमा व्यवसाय वृद्धि गर्न तथा ग्राहकको वित्तीय आवश्यकता सम्बोधन गर्न यो योजना ल्याएको जनाएको छ। विशेषगरी कृषि तथा साना तथा मझौला व्यवसायीलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज बनाउने बैंकको विश्वास छ।

यस योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पूँजी तथा सम्बन्धित व्यावसायिक प्रयोजनका लागि आवश्यक कर्जा लिन सकिनेछ।

त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा स्वाप (SWAP) गर्न चाहने ग्राहकले पनि यो विशेष कर्जा सुविधाको लाभ लिन सक्ने बैंकले जनाएको छ।

यो विशेष योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ। ग्राहकले बैंकका देशभर रहेका १७६ वटै शाखाबाट कर्जा सुविधा लिन सक्नेछन्।

कर्जा लिन चाहने ग्राहकले आफ्नो नजिकको शाखामा सम्पर्क गरी सम्बन्धित कर्जा उत्पादन, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य सर्तबारे विस्तृत जानकारी लिन सक्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन्।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार १३:००   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।