जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढी तथा पहिरोबाट विस्थापित भएका स्थानीयका लागि नेपाली सेनाले बोकेर राहत सामग्री पुर्याएको छ ।
पहिरोले यातायात सञ्चालन हुने सडक नै बगाएपछि सदरमुकामबाट सवारीसाधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन समस्या भएको थियो ।
सडक अवरुद्ध भएपछि नेपाली सेनाको भवानी दल गणले राहत सामग्री बोकेर रिसाङ तथा आसपासका प्रभावित बस्तीमा पुर्याएको हो ।
आजै भवानी दल गणमा कार्यरत महिला सैनिकहरूले समेत रिसाङ र आसपासका पहिरो प्रभावित स्थानीयका लागि राहत सामग्री बोकेर ढुवानी गर्न तथा वितरणमा सहयोग गरेका छन् । सडकको पहुँच नहुँदा पैदलमार्फत जोखिमपूर्ण बाटो हुँदै राहत सामग्री प्रभावित बस्तीमा पुर्याइएको नेपाली सेनाले जनाएको छ ।
बाढी तथा पहिरोका कारण विस्थापित स्थानीयहरू विद्यालय तथा अस्थायी आश्रयस्थलमा बसिरहेका छन् । सडक अवरुद्ध हुँदा खाद्यान्न, त्रिपाल, कम्बललगायत अत्यावश्यक सामग्री प्रभावितसम्म पुर्याउन कठिनाइ भइरहेको अवस्थामा सेनाको सहयोगले राहत वितरणमा सहजता भएको स्थानीयले बताएका छन् ।
पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुरक्षा निकाय, स्थानीय तह र अन्य निकायले समेत निरन्तर काम गरिरहेका छन् । जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राख्ने तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको छ ।
















प्रतिक्रिया