काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओ नेपालले प्रतिकिलोमिटर २५ रुपैयाँको फ्ल्याट भाडादरमा आफ्नो असहमति नरहेको भन्दै राइडरहरूले उठाएको माग र पठाओको भाडादरबीच ठूलो अन्तर नरहेको बरु फरक मुख्यत: भाडा निर्धारण गर्ने संरचना र विधिमा रहेको स्पष्ट पारेको छ ।
बिहीबार कम्पनीका प्रबन्ध निर्देशक यशु थकालीले हस्ताक्षर गरेको विज्ञप्तिमा राइडरहरूले उचित आम्दानी पाउनुपर्छ भन्ने बिषयसँग आफूहरू सहमत रहेको उल्लेख छ ।
उनकाअनुसार राइडरको आर्थिक सुरक्षा र ग्राहकले पाउने सुरक्षित तथा भरपर्दो सेवा एकअर्कासँग जोडिएका विषय हुन् ।
पठाओले आफ्नो हालको भाडा संरचना ठ्याक्कै २५ रुपैयाँ प्रतिकिलोमिटरको दरमा आधारित नभए पनि विभिन्न दूरीका सामान्य राइडको औसत प्रभावकारी भाडा करिब २५ रुपैयाँ प्रतिकिलोमिटर आसपास पर्ने जनाएको छ ।
पठाओका अनुसार उसको भाडा संरचनामा बेस फेयर, प्रतिकिलोमिटर भाडा र प्रतिमिनेट भाडा समावेश छन् । इन्धनको मूल्य, महँगी, मर्मतसम्भार तथा अन्य सञ्चालन खर्चलाई आधार बनाएर आवश्यकताअनुसार भाडा समायोजन गरिँदै आएको कम्पनीको भनाइ छ ।




















प्रतिक्रिया