काठमाडौं । पाकिस्तान सरकारले निजामती कर्मचारीको सामाजिक सञ्जाल प्रयोगलाई लिएर नयाँ आचारसंहिता लागू गर्दै व्यक्तिगत खातामाथि समेत निगरानी बढाउने तयारी गरेको छ। नियम उल्लंघन गर्ने कर्मचारीमाथि अनुशासनात्मक कारबाही गर्ने व्यवस्था गरिएको छ।
द एक्सप्रेस ट्रिब्यूनका अनुसार नयाँ निजामती कर्मचारी आचारसंहिता–२०२६ अन्तर्गत सरकारी कर्मचारीका आधिकारिकसँगै व्यक्तिगत सामाजिक सञ्जाल गतिविधिसमेत नियामक निगरानीमा पर्नेछन्।
सरकारविरोधी गतिविधि वा प्रचारमा संलग्न हुने, सरकार वा सरकारी संस्थाको आलोचना वा बदनाम गर्न अज्ञात तथा नक्कली खाता प्रयोग गर्ने कर्मचारीमाथि कारबाही गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, सरकारी कामकारबाहीलाई व्यक्तिगत प्रचारका लागि प्रयोग गर्नसमेत रोक लगाइएको छ। कर्मचारीले व्यक्तिगत सामाजिक सञ्जाल खातामार्फत आफ्नो व्यक्तिगत प्रचारका लागि सरकारी कामको विवरण सार्वजनिक गर्न नपाउनेछन्। कार्यालय समयमा सरकारी सामाजिक सञ्जाल खाता व्यक्तिगत प्रचारका लागि प्रयोग गरेको पाइएमा पनि कारबाही हुने जनाइएको छ।
नयाँ नियमअनुसार आवश्यक परे कर्मचारीलाई उनीहरूले सञ्चालन गरिरहेका आधिकारिक तथा व्यक्तिगत सामाजिक सञ्जाल खाताको विवरण उपलब्ध गराउनसमेत लगाउन सकिनेछ।
सरकारी सामाजिक सञ्जाल खाताको संस्थागत नियन्त्रण कायम राख्ने उद्देश्यले पदबाट अवकाश वा सरुवा हुने अधिकारीले सरकारी खातासम्बन्धी प्रमाणपत्र, अभिलेखित सामग्री र प्रशासनिक पहुँच आफ्ना उत्तराधिकारीलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिताले निजामती कर्मचारीलाई सरकारी नीति वा आधिकारिक धारणाविपरीत विचार तथा सूचना सार्वजनिक गर्नसमेत निषेध गरेको छ। नियम उल्लंघन गरेको पाइएमा सम्बन्धित कर्मचारीमाथि प्रचलित प्रक्रियाअनुसार अनुशासनात्मक कारबाही अघि बढाउन सकिनेछ।
















प्रतिक्रिया