Logo

अन्तर्राष्ट्रिय

तेल निर्यातलाई हरेक दिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य



काठमाडौं । इराकले आगामी छ वर्षभित्र दैनिक एक करोड ब्यारेलसम्म पेट्रोलियम पदार्थ निर्यात गर्ने लक्ष्य सार्वजनिक गरेको छ।

इराकी प्रधानमन्त्री अली अल जाइदीले शुक्रबार बग्दादमा आयोजित एक कार्यक्रममा ओपेक प्लसको ढाँचाभित्र रहेर देशको तेल निर्यात हिस्सा बढाउने योजना रहेको बताएका हुन्। उनका अनुसार इराकले आगामी छ वर्षमा दैनिक ८० लाखदेखि एक करोड ब्यारेलसम्म तेल निर्यात पुर्‍याउने लक्ष्य राखेको छ।

इराकको सरकारी आम्दानीको झन्डै ९० प्रतिशत हिस्सा कच्चा तेलको बिक्रीबाट आउने गर्छ। तर इरान र अमेरिकाबीच सुरु भएको मध्यपूर्व युद्ध तथा हर्मुज जलमार्गमा भएको अवरोधका कारण इराकको तेल निर्यात प्रभावित भएको छ।

द्वन्द्व सुरु हुनुअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल कच्चा तेल उत्पादन गर्दै आएको थियो। मासिक औसत करिब १० करोड ५० लाख ब्यारेल तेल निर्यात हुने गरेकोमा अधिकांश तेल बसरा टर्मिनलबाट हर्मुज जलमार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्थ्यो।

हर्मुज जलमार्ग अवरुद्ध भएपछि इराकले वैकल्पिक मार्गबाट तेल निर्यात बढाउन थालेको छ। सिरियामार्फत ट्यांकर ट्रक तथा टर्कीको सेहान बन्दरगाहसम्मको पाइपलाइन प्रयोग गरी कच्चा तेल बाहिर पठाउन थालिएको हो।

‘हर्मुज जलमार्ग बन्द हुनु ठूलो चुनौती हो,’ प्रधानमन्त्री जाइदीले भने। उनका अनुसार बग्दादले टर्कीको सेहानसँगै सिरियाको बनियास र जोर्डनको अकाबा बन्दरगाहमार्फत पनि तेल निर्यात विस्तार गर्ने तयारी गरिरहेको छ।

हर्मुज जलमार्ग अवरुद्ध भएपछि इराकको तेल निर्यात घटेको थियो। जुलाईमा भने निर्यात केही सुधार हुँदै करिब चार करोड ९० लाख ब्यारेल पुगेको थियो। त्यसमध्ये तीन करोडभन्दा बढी ब्यारेल हर्मुज जलमार्ग हुँदै बाहिरिएको थियो।

अगस्टको पहिलो दुई सातामा इराकले दैनिक औसत २० लाख ब्यारेल तेल निर्यात गरेको जनाएको छ। यो मध्यपूर्वमा युद्ध सुरु भएयताकै उच्च निर्यात हो।

यसअघि विश्व बजारमा देखिएको तेल अभावलाई सम्बोधन गर्न बग्दादले ओपेकसँग आफ्नो उत्पादन कोटा बढाउन आग्रह गरिसकेको थियो। तेल आम्दानीमा अत्यधिक निर्भर रहेको इराकले पछिल्लो समय अर्थतन्त्रलाई अन्य क्षेत्रमा समेत विस्तार गर्ने प्रयास गरिरहेको छ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार २१:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।