झापा।पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य वस्तु नेपाल भित्रिएका छन्।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, चीन, अस्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल आयात गरिएको हो।
कार्यालयका प्रमुख नन्दकिशोर सिंहका अनुसार उक्त अवधिमा कुल २४ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरका कृषिउपज सामग्री आयात भएका छन्। आयातीत वस्तुमध्ये खाद्यान्न र दलहनको हिस्सा सबैभन्दा ठूलो छ।
भारतबाट मात्रै २४ करोड २३ लाख १३ हजार रुपैयाँको चामल तथा १८ करोड ८३ लाख रुपैयाँ बराबरको कोदो आयात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
यस्तै, अस्ट्रेलिया र भारतबाट १ हजार ९९६ मेट्रिकटन चना आयात भएको छ। यसको मूल्य १८ करोड २७ लाख ९९ हजार रुपैयाँ रहेको छ। अस्ट्रेलियाबाट ७९६ मेट्रिकटन मासको दाल आयात भएको छ, जसको मूल्य १० करोड ८८ लाख ५४ हजार रुपैयाँ छ।
ताजा तरकारीतर्फ भारतबाट गोलभेडा, काँक्रा, भेडे खुर्सानी र फर्सीलगायतका वस्तु उल्लेख्य मात्रामा आयात भएका छन्। एक वर्षमा १४ करोड ३९ लाख ६६ हजार रुपैयाँको गोलभेडा, ७ करोड ९० लाख ६४ हजार रुपैयाँको काँक्रा तथा ३ करोड २४ लाख ३५ हजार रुपैयाँको खुर्सानी आयात भएको तथ्यांक छ।
फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटहर, तरबुजा र नासपाती मुख्य रूपमा आयात भएका छन्। भारत र चीनबाट २९ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ। भारतबाट मात्रै १४ करोड २४ लाख ८१ हजार रुपैयाँको तरबुजा नेपाल भित्रिएको कार्यालयले जनाएको छ।
काँकरभिट्टा नाका हुँदै पछिल्लो समय खाद्यान्नदेखि फलफूल र तरकारीसम्मका कृषिजन्य वस्तुको आयात उल्लेख्य रहेको कार्यालयको तथ्यांकले देखाएको छ।
















प्रतिक्रिया