काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘१८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। भृकुटीमण्डपमा आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने प्रदर्शनीका लागि स्टल निर्माण तथा अन्य तयारीलाई तीव्र पारिएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको प्रदर्शनी नाडाको ५०औँ स्थापना वर्ष अर्थात् स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुँदैछ। प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने अटो शोमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुनेछन्।
प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय सवारी (ईभी), अत्याधुनिक अटोमोबाइल प्रविधि तथा विभिन्न उत्पादन र सेवा प्रदर्शन गरिने आयोजकले जनाएको छ। करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण राखिनेछन्।
स्वर्ण जयन्तीलाई विशेष बनाउन यसपटकको अटो शो विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको छ। प्रदर्शनीले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष भेटघाट र व्यावसायिक अन्तरक्रियाको अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।
यसैगरी, प्रदर्शनीमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ पभेलियनसमेत राखिने भएको छ। उक्त पभेलियनमा नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्ट प्रदर्शन तथा प्रवर्द्धन गरिनेछ।
नाडाका अनुसार प्रदर्शनीमार्फत नेपाली अटोमोबाइल उद्योगमा भएका उत्पादन, प्रविधि र सम्भावनालाई उपभोक्तामाझ पुर्याउने तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
















प्रतिक्रिया