काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
थारू कल्याणकारिणी सभाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित समाधान खोज्नुपर्ने बताइन्। उनले प्रतिवेदन सार्वजनिक गर्न सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाइन्।
थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गतेलाई टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।
यस वर्ष ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ र ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया आयोजना गरिएको हो।
कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारभित्रै रहेर उठाइरहेको बताइन्। थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा आफू निरन्तर आवाज उठाइरहने उनको भनाइ थियो।
उनले थारू समुदायका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउँदै टीकापुर घटनासहितका विषयमा न्यायोचित निकास खोज्नुपर्नेमा जोड दिइन्।
















प्रतिक्रिया