बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ। घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुन सक्ने व्यक्तिमाथि अनुसन्धान अघि बढाउँदै पक्राउ संख्या बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी र एक १६ वर्षीय नाबालक पक्राउ परेका थिए। कानुनी प्रावधानअनुसार नाबालकको वास्तविक नाम प्रहरीले सार्वजनिक गरेको छैन।
अनुसन्धानका क्रममा इन्द्रजित चौधरी, पुष्पा चौधरी, ममता चौधरी, शेख हुस्मुदिन आलम, टेकबहादुर थापा मगर र नवीन वि.क. पनि पक्राउ परेका छन्। त्यस्तै, पछिल्लो चरणमा जीतपुरसिमरा–२ का १४ वर्षीय प्रदीप खड्का पक्राउ परेका हुन्। उनी कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। बारा जिल्ला अदालत, कलैयाबाट पहिलो चरणमा चार दिन र दोस्रो चरणमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको बयान लिनुका साथै घटनास्थलबाट संकलित प्रमाण, उनीहरूबीच भएको सम्पर्क र घटनासँग जोडिएका अन्य व्यक्तिको भूमिकाबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसैबीच घटनाका मुख्य आरोपित भनिएका नाबालकसँग चिकित्सकले सोधपुछ गरिरहेको दृश्य समेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र बाल न्यायसम्बन्धी संवेदनशीलतामाथि प्रश्न उठेको छ।
उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले समेत घटनाबारे छुट्टै अनुसन्धान थालेको जनाएको छ। भिडियो चुहाएको आरोपमा प्रहरी हवलदार कुमार विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा पक्राउ परेकाहरूको वास्तविक संलग्नता, घटनाको सम्पूर्ण विवरण र अन्य व्यक्तिको भूमिका भए–नभएको विषयमा प्रमाण संकलन तथा अनुसन्धान जारी छ। पक्राउ पर्दैमा उनीहरू कसुरदार ठहर भने भइसकेका छैनन्; अनुसन्धान र कानुनी प्रक्रियाबाट मात्र दोषी वा निर्दोषको टुंगो लाग्नेछ।
















प्रतिक्रिया