Logo

अर्थ

नेपाल राष्ट्र बैंकमा विभिन्न पदमा जागिर खुल्यो, कुन पदमा कति?



काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले बैंकका विभिन्न रिक्त पदहरूमा करार सेवामार्फत पदपूर्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको छ ।

बैंकले रक्षक, सिपाही, सवारी चालक, डिस्पेन्सरी र कार्यालय सहयोगी गरी कुल ३४ जना कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार रक्षक पदमा १ जना, सिपाहीमा ४ जना, हल्का सवारी चालकमा ७ जना, बस चालकमा ३ जना, डिस्पेन्सरीमा २ जना र कार्यालय सहयोगीमा १७ जना माग गरिएको छ ।

रक्षक पदका लागि एसईई वा सोसरह उत्तीर्ण गरी नेपाली सेनाबाट जमदार वा सुवेदार पदबाट निवृत्त भएको हुनुपर्नेछ। सिपाही पदका लागि कक्षा ८ उत्तीर्ण गरी नेपाली सेनाबाट हुड्डा, अमलदार, प्युठ वा सिपाही पदबाट निवृत्त भएको हुनुपर्नेछ ।

हल्का सवारी चालक पदका लागि कक्षा ८ उत्तीर्ण हुनुका साथै कार वा जिप चालकका रूपमा ७ वर्षको अनुभव र सम्बन्धित निकायबाट जारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ । बस चालकका लागि कक्षा ८ उत्तीर्ण, ट्रक वा बस चालकका रूपमा ७ वर्षको अनुभव तथा नवीकरण भएको चालक अनुमतिपत्र हुनुपर्नेछ ।

त्यस्तै, डिस्पेन्सरी पदका लागि स्टाफ नर्स वा डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरी कम्तीमा ५ वर्षको कार्यअनुभव आवश्यक छ । कार्यालय सहयोगी पदका लागि कक्षा ८ उत्तीर्ण भई सरकारी वा वित्तीय संस्थामा कार्यालय सहयोगीका रूपमा काम गरेको तथा पेन्सन प्राप्त गरिरहेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले भदौ ९ गतेदेखि २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

दरखास्त बैंकको आधिकारिक वेबसाइट www.nrb.org.np को ‘Career’ भित्र रहेको ‘Online Portal for Contract Application’ मार्फत पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलवार १३:५१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।