काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नुवाकोट, रसुवा र धादिङका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा घाइतेको निःशुल्क उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। प्रभावित क्षेत्रमा उद्धारका लागि १३ हजार २ सय ९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारका अनुसार हालसम्म ६९ वटा हवाई उडानमार्फत ५ सय ७३ जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा राहत सामग्रीसँगै स्वास्थ्य टोली र आवश्यक औषधिसमेत पठाइएको सरकारले जनाएको छ।
राहतका लागि सरकारले रसुवा र नुवाकोटमा १–१ करोड रुपैयाँ तथा धादिङमा ५० लाख रुपैयाँ परिचालन गरेको छ।
प्रधानमन्त्री शाहले बाढीपहिरोका कारण अवरुद्ध सडक तथा पुल तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। त्यसैगरी विद्युत्, खानेपानी र दूरसञ्चार सेवा पनि शीघ्र पुनः सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
उनले उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र पूर्ण रूपमा परिचालन हुने प्रतिबद्धता जनाएका छन्।
















प्रतिक्रिया