Logo

विविध

रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता



ताप्लेजुङ । त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जना अझै बेपत्ता छन् ।

रसुवास्थित जलविद्युत आयोजनामा कार्यरत आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनका पासाङतेञ्जी शेर्पा, ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा शुक्रबार बिहान ३ बजे परिवारको सम्पर्कमा आएका हुन् । उनीहरू सकुशल सम्पर्कमा आइसकेको आठराई त्रिवेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङले जानकारी दिइन् ।

बाढीपछि सम्पर्कविहीन भएका अन्य दुई जना भने शुक्रबार बिहानसम्म पनि परिवारको सम्पर्कमा आउन सकेका छैनन् । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका–२, थेचम्बुका भीष्म चापागाईँ र फुङलिङ नगरपालिका–९, हाङदेवाका दुर्गा भट्टराई (दिवस) सम्पर्कविहीन रहेका हुन् ।

सम्पर्कविहीन रहेका दुवै जनाको खोजी तथा सम्पर्कको प्रयास भइरहेको परिवारजनले जनाएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार ०८:१७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।