Logo

समाचार

बाढी पीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने



काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब ७६ करोड रुपैयाँ) अनुदान स्वीकृत गरेको छ।

एडिबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त रकम खोज तथा उद्धार सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय र सरसफाइका सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ। बाढीबाट क्षतिग्रस्त क्षेत्रमा आपत्कालीन पूर्वाधार निर्माणका लागि समेत अनुदान परिचालन गरिने बैंकले जनाएको छ।

एडिबी अध्यक्ष मासातो कान्दाले विपद्का समयमा प्रभावित परिवारले सहयोगका लागि लामो समय कुर्न नसक्ने बताएका छन्। अनुदानले प्रभावितलाई तत्काल खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधि उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ।

एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य विकास साझेदारसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग गरिरहेको जनाएको छ।

यसैबीच, विपद्पछिको आवश्यकता मूल्यांकन, पुनःस्थापना योजना र सम्भावित पुनर्निर्माणका लागि थप १ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको एडिबीले जनाएको छ।

 

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार २१:४८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।