काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि परिचालित टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ ।
तीन दिनदेखि निरन्तर उद्धारमा खटिएको नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सुरुङ विज्ञहरूको संयुक्त टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ फेला पारेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार उक्त सुरुङबाट उद्धार विज्ञलाई भित्र पठाएर सुरुङभित्रको अवस्थाबारे जानकारी लिने तयारी भइरहेको छ ।
उद्धार टोलीले यसअघि सुरुङभित्र हावा पठाउन पाँचवटा ड्रिल अर्थात् प्वाल बनाएको थियो । ती प्वालमार्फत सुरुङभित्रको अवस्था बुझ्ने र अक्सिजन पठाउने प्रयास भइरहेको छ ।
सांसद तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले पनि ‘केबल एक्सेस टनेल’ भेटिएको पुष्टि गरेका छन् । उनी उद्धारस्थलमै बसेर सुरुङमा ड्रिल गर्ने तथा भित्रको अवस्था बुझ्ने कार्यको नेतृत्व गरिरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढी गएको दुई दिनपछि शुक्रबारदेखि मात्रै सुरुङमा फसेका कर्मचारीको उद्धार कार्य सुरु भएको थियो । उद्धार टोलीले पाँच दिनसम्म प्रयास गर्दा पनि मुख्य सुरुङसम्म पुग्न नसकेपछि भित्र फसेका कर्मचारीको अवस्थाबारे चिन्ता बढेको थियो ।
आयोजनाको भूमिगत विद्युत् गृहमा ओभरहलिङको काम भइरहेका बेला करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्ति सुरुङभित्र फसेको प्राधिकरणको अनुमान छ ।
















प्रतिक्रिया