Logo

विविध

बाजुराको बडीमालिका मेलाअवधिभर एक हजार बढीको स्वास्थ्य उपचार सेवा



बाजुरा । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र आस्थाको धरोहर बडीमालिकामा सञ्चालित स्वास्थ्य शिविरमा एक हजार बढिले सेवा लिएका छन् । जनैपूणिर्माको अवसरमा लागेको मेलामा त्यहाँ जाने तीर्थयात्रीमध्ये एक हजार बढिले उपचार सेवा लिएका हुन् ।

त्रिवेणी नगरपालिकाले तीर्थयात्रीहरूका लागि सञ्चालन गरेको स्वास्थ्य उपचार सेवामा सो सङ्ख्यामा उपचार सेवा दिइएको हो।नगरपालिकाले भदौं ५ गतेबाट त्रिवेणी, बडीमालिका र नाटेश्वरीमा १ हजार १६९ जना तीर्थयात्रीहरूलाई उपचार सेवा दिइएको हो ।

बडीमालिका मेलाको दर्शनका लागि आएका भक्तजनहरूलाई प्राथमिक उपचार सहितको सेवा प्रदान गरिएको स्वास्थ्यकर्मी तिलक न्यौपानेले बताए । मेला अवधिभर बडीमालिका मन्दिर क्षेत्रमा ७१ जना पुरुष र १७८ जना महिला गरी २४९ तीर्थयात्रीलाई प्राथमिक उपचार सेवा दिइएको उनको भनाई छ ।

त्यस्तै नाटेश्वरीमा ९४ जना महिला,२९८ जना पुरुष गरी ३९२ जना र त्रिवेणीको पञ्चपुरीमा ११५ महिला र ४३३ पुरुष गरी ५४८ जनाको स्वास्थ्य उपचार सेवा दिइएको न्यौपानले जानकारी दिए । त्रिवेणीको पञ्चेवरी,बडीमालिका र नाटेश्वरीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट २७६ जना महिला र ८९३ जना पुरुष गरी १ हजार १६९ जनाको ज्वरो, रुघाखोकी लगायतका प्राथमिक उपचार गरिएको हो।

त्रिवेणी पाटनमा लेक लागेर अस्वस्थ भएका बुढीगंगा नगरपालिका वडा नं. ६ का ३४ वर्षीय चन्द्र पाध्यायलाई बुढीगंगा नगरपालिकाको आर्थिक सहयोगमा हेलिकप्टर मार्फत थप उपचारका लागि सुर्खेत पठाइएको हो । यस्तै, नाटेश्वरी मन्दिरमा लेक लागेर बिरामी भएका रोशन बहादुर दानीलाई प्राथमिक उपचार पश्चात् जिल्ला अस्पताल बाजुरा पठाइएको थियो ।

शिविर २०८३ भाद्र ५ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको थियो । बडीमालिकाको मेलाको मूल पूजा भदौं ११ गते साउन शुक्ल पक्ष चतुर्दशीका दिन लागेको थियो । भने १ गतेबाट नै पूजा आरम्भ गरिएको थियो।समुन्द्री सतह देखी ४ हजार २ सय बढी मिटरको उचाइमा रहेको बडीमालिका सुन्दर र विशाल फाँटहरूको सहर जस्तैस् देखिने भू—स्वर्ग हो ।

बडीमालिकालाई फाँटैफाँटको सहर भन्दा पनि फरक पर्दैन ।

यहाँ २२ वटा समथर हरिया पाटनहरू छन्। मनमोहक त्रिवेणी क्षेत्र,ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, विष्णुपानी, खेतीवेती, लौरी विनायक, धर्मद्वार, बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन्।प्राकृतिक सौन्दर्यता भरिपूर्ण यी फाँटहरू नै यहाँका मुख्य आकर्षक हुन् ।

बडीमालिकालाई सति देविको रुपमा लिईन्छ । सति देविको बायाँ कुम पतन भए पछि यसको उत्पत्ति भएको धार्मिक विश्वास छ । बडीमालिकाको दर्शनले मनोकांक्षा पूरा हुने, मागेको वर प्राप्त हुने धार्मिक विश्वास छ । अहिले बडीमालिकामा फोरजी सेवा समेत सञ्चालनमा आएको छ ।

पछिल्लो समय बडीमालिकामा घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चुनावी अभियानका क्रममा ः वर्तमान नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले धनगढीमा आयोजित एक कार्यक्रममा बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’ संज्ञा दिएपछि पर्यटकको संख्या बढ्दै गएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार ०९:०६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।