काठमाडाैं । सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ ।
आन्तरिक राजस्व विभागले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै आज सार्वजनिक गर्ने तय भएको चिठ्ठाको नतिजा स्थगित गरिएको जानकारी दिएको छ ।
कार्यक्रमअन्तर्गत यसअघि दुई चरणमा चिठ्ठा खोलिसकिएको छ । पछिल्लो चरणका लागि भदौ १५ गतेसम्मका योग्य कारोबारबाट तयार भएका कुपन सोमबार चिठ्ठामार्फत छनोट गरिएको थियो। ती कुपनबाट छनोट भएका विजेताको नाम मंगलबार सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको थियो ।
तर, मुलुकको वर्तमान विपद्को अवस्थालाई ध्यानमा राख्दै नतिजा सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ ।
नतिजा स्थगित भए पनि योग्य कारोबारका आधारमा कुपन तयार हुने प्रक्रिया भने निरन्तर सञ्चालन हुने विभागले स्पष्ट पारेको छ । प्रणालीमा योग्य कारोबारका आधारमा नयाँ कुपन थपिँदै जाने र हाल तयार भएका कुपन सुरक्षित रहने जनाइएको छ ।
स्थगित भएको कार्यक्रम र त्यसपछिको अर्को चरणको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ। नतिजा सार्वजनिक गर्ने नयाँ मिति तथा संयुक्त चिठ्ठामा समेटिने कारोबारको अवधिलगायत विषयमा विभागले औपचारिक सूचना जारी गरेर जानकारी गराउनेछ ।
सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालन गर्दै आएको हो ।
विभागले आगामी औपचारिक सूचनामार्फत स्थगित चिठ्ठाको नयाँ मिति र त्यसमा समेटिने अवधिबारे स्पष्ट जानकारी दिने जनाएको छ।
















प्रतिक्रिया