सोलुखुम्बु । आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
खुम्बु आफैं पनि पछिल्लो विपद्बाट प्रभावित बनेको अवस्थामा अर्को जिल्लाका बाढीपीडितको पीडामा साथ दिन गाउँपालिकाले सहयोगको निर्णय गरेको हो । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।
गाउँपालिकाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाको तर्फबाट उक्त रकम उपलब्ध गराउन लागिएको हो । विज्ञप्ति गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जारी गरेका हुन् ।
यति मात्र होइन, विपद्को समयमा थप सहयोग गर्ने उद्देश्यले गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि आफ्नो एक महिनाको सेवा–सुविधाबराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
यससँगै खुम्बु पासाङल्हामु गाउँपालिकाको संस्थागत सहयोगसँगै जनप्रतिनिधिहरूको व्यक्तिगत योगदानसमेत बाढीपीडितका लागि जाने भएको छ ।
आफैं विपद्को पीडा भोगिरहेको खुम्बुले अर्को जिल्लाका विपद् प्रभावित नागरिकका लागि गरेको यो सहयोगले संकटको समयमा स्थानीय तहबीचको मानवीय सहकार्यको उदाहरण प्रस्तुत गरेको छ ।
















प्रतिक्रिया