Logo

प्रमुख समाचार

भोटेकोशी बाढी : ११ हजार ८८४ जनाको उद्धार, राहत र पुनःस्थापनामा सरकार केन्द्रित : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज तथा उद्धारसँगै राहत र पुनःस्थापनामा केन्द्रित भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको जानकारी दिएका छन्। उद्धार गरिएका घाइतेमध्ये विभिन्न अस्पतालमा भर्ना गरिएका २९२ जनामध्ये १८२ जना डिस्चार्ज भइसकेका छन्।

सरकारले बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा गरेको छ। नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय तथा राहत पाइरहेका छन्।

बाढीबाट क्षतिग्रस्त सडक, मोटरेबल तथा झोलुंगे पुलको पुनःनिर्माण र मर्मतलाई तीव्रता दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।

गल्छी–वेत्रावती–रसुवागढी सडक तथा पृथ्वी राजमार्गका क्षतिग्रस्त खण्डमा काम भइरहेको छ भने विभिन्न स्थानमा बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाइएको छ।

सम्भावित महामारी रोकथामका लागि स्वास्थ्य टोली परिचालन गरिएको तथा प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी र मानसिक स्वास्थ्य परामर्शसमेत सञ्चालन भइरहेको उनले बताएका छन्।

प्रधानमन्त्री राहत कोषमा हालसम्म ६ अर्ब ३६ करोड ६५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको र विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट थप सहयोग प्राप्त भइरहेको शाहले जानकारी दिएका छन्।

उनले भोटेकोशी बाढी हिमालय क्षेत्रमा बढ्दो जलवायु परिवर्तनजन्य जोखिमको गम्भीर संकेत भएको उल्लेख गर्दै यस विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्ने बताएका छन्।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार १९:४८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।