पोखरा। कास्की र रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मंगलबार २१ शवको सनाखत भएको छ।
सनाखत भएका शव परिवारलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव छन्। तीमध्ये केही शवमा एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेपछि थप परीक्षण गर्न बाँकी रहेको उनले बताए।
‘लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलिनुका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो,’ बरालले भने, ‘सबै शवको डीएनए नमुना लिएका छौं। परिवारको डीएनए नमुनासँग मेल खाएमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिन्छ।’
व्यवस्थापन गरिएका शवमध्ये धादिङबाट २२, गोरखाबाट ७, नवलपरासीबाट २५ र तनहुँबाट २२ वटा रहेको प्रशासनले जनाएको छ।
शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर संकेत नम्बर दिइएको थियो। त्यसपछि माटोले पुरेर प्रत्येक शवको पहिचानका लागि गमला राखी संकेत नम्बर उल्लेख गरिएको ‘स्ट्यान्ड’ बनाइएको छ।
















प्रतिक्रिया