Logo

प्रमुख समाचार

बाढीमा बेपत्ताका आफन्तलाई डीएनए परीक्षण गराउन आह्वान



काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नागरिकहरूको खोजी र फेला परेका बेवारिसे शव तथा मानव अंगहरूको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ ।

गत भदौ १० गते आएको बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा पहिचान खुल्न नसकेका शव तथा शरीरका विभिन्न अंग फेला परिरहेका छन् । ती शवको वैज्ञानिक विधिबाट पहिचान गरी सम्बन्धित परिवारलाई बुझाउन प्रहरीले बेपत्ता व्यक्तिका नजिकका आफन्तबाट डीएनए नमुना संकलन गर्न लागेको हो ।

प्रहरीले सूचना जारी गर्दै स्वदेश तथा विदेशमा रहेका बेपत्ता नेपाली तथा विदेशी नागरिकका पहिलो पुस्ताका नातेदारलाई डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

स्वदेशमा रहेका आफन्तले कहाँ सम्पर्क गर्ने ?
नेपालमा रहेका बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले दुई प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित भएर डीएनए परीक्षणका लागि नमुना दिनुपर्ने प्रहरीले जनाएको छ ।

डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना आवश्यक पर्नेछ। नमुना दिन इच्छुक आफन्तले नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

विदेशमा रहेका आफन्तले कसरी नमुना दिने ?
विदेशमा रहेका गैरआवासीय नेपाली तथा विदेशी नागरिकका परिवारका हकमा सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ’ गराउनुपर्ने प्रहरीले जनाएको छ ।

प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइलको डिजिटल प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्नेछ। इमेलमा निम्न विवरण खुलाउनुपर्ने प्रहरीले जनाएको छः
–डीएनए नमुना दिने व्यक्तिको पूरा नाम र राष्ट्रियता
–राहदानी वा आधिकारिक परिचयपत्रको विवरण
–बेपत्ता भएको मिति र सम्भावित स्थान
–मान्यताप्राप्त प्रयोगशालाको डीएनए प्रोफाइलिङ रिपोर्ट
–डीएनए दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको पारिवारिक नाता ।

डीएनए परीक्षण तथा समन्वयका लागि नेपाल प्रहरीले प्रहरी निरीक्षक शम्भुबहादुर केसी र प्रहरी नायव निरीक्षक ९सई० विष्णु घिमिरेलाई सम्पर्क अधिकारी तोकेको छ ।

सम्पर्कः
प्रहरी निरीक्षक शम्भुबहादुर केसीः ९८४१६१६०९५
प्रहरी नायव निरीक्षक विष्णु घिमिरेः ९८५७०९१०१३

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १०:५८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।