Logo

प्रमुख समाचार

भोटेकोशी बाढी: १ हजार २५२ जनाको शव फेला, अझै ४ हजार २१६ सम्पर्कविहीन



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हजार २५२ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् ।

फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ रहेका छन् ।

बाढी तथा विपद्का घटनामा हालसम्म उपचार गरिएका घाइतेहरुको संख्या ५ हजार १३५ जना छन् ।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ ।

नेपाली सेनाले हालसम्म ७१५ पटक हवाइ उडान गरेको छ । त्यसमध्ये बिहीबार मात्रै २५ उडान गरिसकेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १२:४८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।