काठमाडौं । महालक्ष्मी विकास बैंकले भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले विपद्पछिको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको बैंकले जनाएको छ।
बाढीबाट रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको थियो। विपद्को यस कठिन परिस्थितिमा बैंकको संस्थागत सहयोगसँगै बैंकमा कार्यरत कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिकसमेत समेटेर कुल ५१ लाख रुपैयाँ सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकले बाढी तथा विपद्का कारण ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
महालक्ष्मी विकास बैंकले विपद्को कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय र सरोकारवालाबाट भइरहेको प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।
















प्रतिक्रिया