Logo

समाचार

त्रिशूली ३–‘ए’ सुरुङबाट जीवितै उद्धार भएपछि विकास यादवका परिवारमा जाग्यो आशा



जनकपुर । शुक्रबार विहान त्रिशूली ३–‘ए’ आयोजना सुरुङबाट दुई जना कर्मचारीको जीवितै उद्यार भएदेखि महोत्तरीको पिपरा गाउँपलिकाका विकास यादवको परिवारजनमा आशा पलाएको छ ।

त्रिशूली ३–‘ए’ आयोजनामा कार्यरत ३० वर्षीय सिभिल इन्जिनियर विकास यादव सोही परियोजनामा कार्यरत थिए ।

चार वर्षअघिमा विद्युत प्राधिकरणमा नाम निकालेर जिम्मेवारी सम्हालेका विकास १० दिन अघि आएको बाढीमा अन्य कर्मचारीहरुसंगै सम्पर्कविहीन भएदेखि उनको परिवारजनमा बज्रपात परेझैं भएको छ । विकासका पिता शम्भुनाथ यादव अन्तिम १० दिनदेखि दैनिक मन्दिरमा पूजापाठ र भगवानलाई गुहार लगाउनुबाहेक अरु कुनै काम गर्न सकेका छैनन् ।

तर शुक्रबार विहान त्रिशूली ३–‘ए’ आयोजना सुरुङबाट दुई जनाको जीवितै उद्दार भएदेखि सम्पूर्ण परिवारजनमा आशाको नयाँ दीप बलेको छ । विकासका पिता शम्भुनाथले थोरै भएपनि आफ्नो छोरालाई फेरि हेर्न पाउने विश्वास पलाएको बताउँछन् । उनले नेपाल सरकारसमक्ष उद्दार कार्यलाई तीव्रता दिएर आफ्नो छोरालाई पनि सकुशल निकालिदिन गुहार गरेका छन् ।

विकासकी पत्नी ईन्दिरा बाढीको प्रत्यक्षदर्शी

सम्पर्कविहीन विकासको दुई वर्ष अघि मात्र इन्दिरा यादवसंग विवाह भएको थियो । उनकी पत्नी ईन्दिरा गत बैशाखदेखि नै विकाससंगै त्रिशूली ३–‘ए’ आयोजना छेउमा विकाससंगै बस्दै आएकी थिइन् ।

डेढ वर्षको छोरा र आफू ६ महिनाको गर्भवती रहेकी ईन्दिरा कोठामा सुतिरहेकी थिइन भने श्रीमान विकास काम गर्न सुरुङ भित्रै गएका थिए । बाहिर बाढीको आवाजले एक्कासी बिउँझेर झ्यालबाट नियाल्दा ईन्दिरा अक्कबक्क परिन् ।

उनले हतारमा आफ्नो छोरा र मोबाइल हातमा लिएर बाहिर आइन । सुरक्षा गार्डले उनलाई पहाडतिर चढ्न भनेपछि हतार हतार चढेर श्रीमान विकासलाई फोन लगाउने प्रयास गरिन । तर सो क्षेत्रमा मोबाइलको नेटर्वक खासै राम्रो नहुने भएकोले सम्पर्क हुन सकेन ।

सोही परियोजनामा कार्यरत अन्य कर्मचारीहरुको आफन्तसहित इन्दिर दिनभरि पहाडबाट बाढी साम्य हुने प्रतिक्षा गरिरहिन् । पछि परियोजनामै कार्यरत एक जना चिनजानको घर गइन् ।

रातभर आफ्नो श्रीमानको चिन्ताले ईन्दिरालाई निन्द्रा लागेन । उनी आफ्नो श्रीमान कुन हालमा होलान भनेर चिन्ता र पीडामा थिईन् । विहान आँट गरेर फेरि परियोजनातिर जाने प्रयास गर्दा बाटोभरि भेट्नेहरुको कुरा सुनेर निराश भएको उनी सुनाउँछिन् ।

इन्दिरलाई एक जना महिलाले परियोजनाका सबै इन्जिनियरहरु बगाएको बताइन । त्यो सुनेर खुट्टा बढाउनै नसकेको उनले बताइन् । पछि एक जना सिनियर कर्मचारीले चिन्ता नगर्नुस सबै जना टनेलभित्र सकुशल छन् उद्दार कार्य सुरु हुन्छ भनेपछि इन्दिराले आशाको सास फेरिन् ।

सोही सिनियर कर्मचारीले हेलिकोप्टर बोलाएर ईन्दिरलाई त्रिशुलीस्थित आर्मी क्याम्पमा पुर्याए । तर राति १० बजे ईन्दिरालाई काठमान्डौं लगियो । त्यसको भोलिपल्ट ईन्दिरा आफ्नो घर पिपरा आइपुगिन् । इन्दिराले त्रिशूली ३–‘ए’ आयोजनाको सुरुङभित्र श्रीमान विकाससँग एकपटक अवलोकन गरेको जानकारी दिइन् ।

इन्दिराका अनुसार भित्र दुईतल्ला जति स्पेस रहेको छ जहाँ कुनै आपतकालिन अवस्थामा माथिल्लो तलामा गएर बस्न मिल्ने स्थान छ । ईन्दिाराको अनुसार उनको श्रीमानसहित अन्य कर्मचारीहरु पनि सोही तलामा सकुशल अवस्थामा रहेको भन्ने पूर्ण विश्वास छ । उनले सरकारसँग जतिसक्दो टनेल भित्र प्रवेश गरेर सबैजनाको उद्धार गर्न आग्रह गरेकी छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार १८:१२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।