Logo

समाचार

कपडाले पानी छानेर पिउँदै आफ्नो ज्यान बचाएका थिए सञ्जयले



काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका सञ्जय साहको परिवारमा अहिले खुसीको सीमा छैन।

लामो समयसम्म सञ्जय जीवितै छन् भन्ने आशामा बसेका परिवारले केही दिनपछि भने उनको सकुशल उद्धार हुने आशा कमजोर हुँदै गएको बताएको छ ।

सञ्जयका मामा ऋषिदेव साह काठमाडौंमै थिए । बुधबार शुक्रबार सञ्जयलाई सुरुङबाट जीवितै उद्धार गरिएको खबर उनले सञ्चारमाध्यमबाट थाहा पाए । त्यसपछि घरबाट फोन आएपछि उनी तत्काल छाउनी अस्पताल पुगे ।

अस्पताल पुगेर सञ्जयलाई प्रत्यक्ष देखेपछि मात्रै आफूलाई उद्धारको खबर साँच्चिकै भएको अनुभूति भएको उनले बताए।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै ऋषिदेवले भने, ‘सञ्जय साह मेरो भान्जा पर्छन् । म काठमाडौंमै बस्छु । उद्धार भयो भनेर थाहा पाएपछि घरबाट पनि फोन आयो । त्यसपछि म यहाँ आएको हुँ ।’

उनका अनुसार लामो समय सुरुङभित्र बस्नुपरेका कारण सञ्जय केही कमजोर देखिए पनि अहिले उनको अवस्था सामान्य छ । परिवारसँग कुराकानी गर्दा उनले सबैलाई चिनेका छन् र खासै समस्या नभएको जानकारी दिएको ऋषिदेवले बताए ।

तर सञ्जयले सुरुङभित्र बिताएका १० दिन भने निकै कठिन थिए । अचानक आएको बाढीले सुरुङभित्र रहेका कामदारहरूलाई ज्यान जोगाउन भागाभागको अवस्था सिर्जना गरेको थियो ।

ऋषिदेवका अनुसार बाढी आउन थालेपछि सञ्जयलाई पनि त्यसको जानकारी भयो । सुरुङभित्र काम गरिरहेका अन्य व्यक्तिहरूलाई समेत भाग्न भनिएको थियो । त्यसपछि सञ्जय आफू सुरक्षित हुने ठाउँ खोज्दै माथिल्लो भागतर्फ पुगे ।

‘अचानक बाढी आएछ । त्यहाँ अरु काम गर्ने मान्छेहरू पनि थिए। भाग–भाग भनेपछि ऊ पनि सुरुङभित्र माथितिर गएको रहेछ,’ उनले भने।

सुरुङभित्र चार–पाँच तलाजस्तो संरचना रहेको र सञ्जय छैटौँ तलातर्फ पुगेको उनले बताए । तर वैकल्पिक बाटोतर्फबाट पनि पानी आउन थालेपछि अवस्था झन् जोखिमपूर्ण बनेको थियो।

पानीको बहावबाट जोगिन सञ्जयले बगाएर ल्याएको काठको सहारा लिएका थिए। पानी नपसेको स्थानमा पुगेपछि उनी त्यहीँ बसेर आफ्नो ज्यान जोगाइरहेका थिए ।

‘बगाएर ल्याएको काठ अड्काइदिएछ । छैटौँ तलामा पानी गएन रे । त्यहीँ बसेर दुई–चार दिन त्यसै बिताएछ,’ ऋषिदेवले भने।

त्यसपछि सुरुङभित्र रहेको भेन्टिलेसनजस्तो स्थानमा समेत सञ्जयले आश्रय लिएको परिवारले जानकारी पाएको छ।

उनलाई सबैभन्दा ठूलो समस्या भनेको खानेपानी र खानाको थियो। लामो समयसम्म खानेकुरा नपाएपछि उनले सुरुङभित्र उपलब्ध पानी नै कपडाबाट छानेर पिउने गरेको ऋषिदेवले बताए ।

‘खाने कुराको त झन् समस्या भयो। गन्जी–टीसर्ट खोलेर गन्जीले पानी फिल्टर गरेर त्यही पानी हल्का–हल्का पिएछ,’ उनले भने।

सञ्जयको यो अवस्था सुन्दा परिवारलाई अहिले पनि विश्वास गर्न गाह्रो भइरहेको छ । १० दिनसम्म अँध्यारो सुरुङभित्र, बाढी र पानीको जोखिमबीच कसरी उनले आफूलाई जोगाए भन्ने कुरा परिवारका लागि पनि चमत्कारजस्तै बनेको छ ।

सञ्जयको उद्धार हुनुअघि भने परिवारको आशा विस्तारै कमजोर हुँदै गएको थियो । सुरुका दिनमा सुरुङ ठूलो भएकाले भित्र कतै सुरक्षित स्थानमा बसेका हुन सक्ने आशा थियो । तर दिन बित्दै गएपछि परिवारले नराम्रो खबर आउनसक्ने सम्भावना स्वीकार गर्न थालेको थियो ।

ऋषिदेवले भने, ‘सातआठ दिन भइसकेको थियो, अब त माया मारिसकेका थियौँ । जीवितै होला भन्ने आशा पनि बिस्तारै कम हुँदै गएको थियो ।’

तर शुक्रबार बिहान आएको खबरले परिवारको अवस्था एकाएक बदलियो । लामो समयदेखि पर्खिरहेको खुसीको खबर सुनेपछि आफूहरू निकै भावुक भएको उनले बताए।

‘उद्धार भयो भन्ने खबर सुन्दा मलाई मात्रै होइन, पुरै नेपाललाई नै खुसी लागेछ भन्नुपर्छ । यस्तो अवस्थामा १० दिनपछि जीवितै भेटिनु चमत्कार नै भयो,’ उनले भने।

सञ्जयलाई भगवानको कृपाले नयाँ जीवन पाएको परिवारले महसुस गरेको छ । विशेषगरी कृष्ण जन्माष्टमीको दिन उनको उद्धार भएकाले परिवारले यसलाई अझ विशेष रूपमा लिएको ऋषिदेवले बताए ।

‘शुक्रबार आज भगवानको जन्म दिन हो। यही दिन हाम्रो भान्जाको पनि पुनर्जन्म भयो भन्नुप¥यो । भगवानकै कृपा हो, चमत्कार नै भयो,’ उनले भने ।

अहिले सञ्जय अस्पतालमा उपचाररत छन् । परिवारका सदस्यहरू उनको स्वास्थ्यमा क्रमिक सुधार आउने विश्वासमा छन् । लामो समयसम्म सुरुङभित्र बस्दा शरीर कमजोर भएपनि अहिले उनी आफन्तलाई चिन्न सक्ने, फोनमा कुराकानी गर्न सक्ने र सामान्य अवस्थामा रहेको ऋषिदेवले बताए ।

सञ्जयको उद्धारपछि उनको परिवारमा मात्रै होइन, घटनाबारे जानकारी राखिरहेका सर्वसाधारणमा समेत खुसी छाएको छ । लामो समयसम्म बेपत्ता रहेका व्यक्तिलाई जीवितै उद्धार गर्न सकिन्छ भन्ने आशा यस घटनाले जगाएको परिवारको भनाइ छ।

ऋषिदेवले सुरुङभित्र अझै जोखिममा रहेका वा सम्पर्कविहीन व्यक्तिहरूको पनि सकुशल उद्धार होस् भन्ने कामना गरेका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार १८:२५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।